आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘२५ गतेभित्र सुदूरपश्चिममा नयाँ सरकार बन्छ'

आइतबार, १० साउन २०८३, १५ : २९
आइतबार, १० साउन २०८३

सारांश

  • नेकपा एमालेले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
  • नयाँ सत्ता समीकरणअनुसार नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
  • सांसद मानबहादुर धामीका अनुसार यही महिनाको २० देखि २५ गतेभित्र नयाँ सरकार गठन हुने सम्भावना छ ।

धनगढी । सुदूरपश्चिम प्रदेश नयाँ सरकार गठनका लागि तयारी थालिएको छ । 

नेकपा एमालेले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । नयाँ सत्ता समीकरणअनुसार नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । 

नेकपा र एमालेसँग स्पष्ट बहुमत भएकाले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनको दाबी गर्ने तयारी भइरहेको छ । नेकपाका सांसद मानबहादुर धामीका अनुसार यही महिनाको २० देखि २५ गतेभित्र नयाँ सरकार गठन हुने सम्भावना छ । 

सांसद धामीका अनुसार कानुनतः समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । ‘एमालेले समर्थन फिर्ता लिएपछि अब झन्डै १५–१७ दिनको समय मुख्यमन्त्रीसँग छ, धामीले भने, उहाँसँग दुई वटा विकल्प छन्– कि त अल्पमतमा परेपछि नैतिकताका आधारमा राजीनामा दिने, कि सदनमा गएर विश्वासको मतको सामना गर्ने ।’ 

मुख्यमन्त्री शाहले अहिलेसम्म राजीनामा नदिएका कारण उनी विश्वासको मतकै प्रक्रियामा जान सक्ने सम्भावना रहेको धामीको बुझाइ छ । ‘अहिलेसम्मको कुराकानी सुन्दा मुख्यमन्त्री विश्वासको मतका लागि सदन जाने मुडमा देखिनुहुन्छ,’ उनले भने । 

नयाँ सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । नेकपा र एमाले मिल्दा स्पष्ट बहुमत पुग्ने भएकाले प्रदेश प्रमुखसमक्ष छिट्टै दाबी पेस गरिने तयारी छ । 

नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा केन्द्र र प्रदेश दुवै तहमा छलफल सुरु भएको छ । सुदूरपश्चिममा नेकपा सबैभन्दा ठुलो दल सत्ता साझेदारमध्ये भएको र एमालेको पनि बलियो उपस्थिति रहेकाले सिट संख्या र दलको आकारअनुसार मन्त्रालय बाँडफाँट हुने धामीले जानकारी दिए । ‘मन्त्रालयको संख्या र जिम्मेवारीबारे माथिल्लो तहमा होमवर्क सुरु भइसकेको छ, एउटा मापदण्ड बनाएर हामी अघि बढ्छौँ,’ उनले भने । 

२०७९ सालको प्रदेश सभा निर्वाचनपछि सुदूरपश्चिममा चार पटक सरकार परिवर्तन भइसकेको छ । यसअघि एमालेका राजेन्द्रसिंह रावल, कांग्रेसका कमल बहादुर शाह, नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र पुनः कमल बहादुर शाह मुख्यमन्त्री बनिसकेका छन् ।

अब खगराज भट्ट मुख्यमन्त्री बनेमा यो कार्यकालको पाँचौँ मुख्यमन्त्री हुनेछन् । पहिलो कार्यकालसहित जोड्दा मुख्यमन्त्री हुने खगराज भट्ट छैटौँ हुन् । आफ्नो कार्यकालमा उपलव्धीमुलक काम गरेर बिदा हुने नेकपाको धारणा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप