राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम तेलंगनाको हैदराबादमा रहेको छ । त्यसैले यसलाई हैदराबाद क्रिकेट स्टेडियमको नामले पनि चिनिन्छ । यो क्रिकेट स्टेडियमको निर्माण सन् २००३ मा सम्पन्न भएको हो ।
यो स्टेडियममा टेस्ट, एकदिवसीय र टी—२० गरी तीनवटै ढाँचाको प्रतियोगिता आयोजना गरिसकिएको छ । यो रंगशालाको दर्शक क्षमता ५५ हजार रहेको छ । यो क्रिकेट रंगशाला करिब ६१ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । यो रंगशाला हैदरबाद क्रिकेट एसोसिएसनको घरेलु मैदान हो । यो स्टेडियमलाई इन्डियन प्रिमियर लिग क्लब सुनराइजर्स हैदराबादले पनि घरेलु मैदानको रूपमा प्रयोग गर्छ । यही रंगशालामा सन् २०१७ को इन्डियन प्रिमियर लिगको उद्धाटन र फाइनल खेल खेलाइएको थियो ।
सन् २०१९ को इन्डियन प्रिमियर लिगको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । यो रंगशालाको नाम भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको हो । यो रंगशाला तयार हुनुअघि हैदराबाद क्रिकेट एसोसिएसनले बसिरबाघमा रहेको लालबहादुर शास्त्री रंगशालालाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्थ्यो । यो क्रिकेट स्टेडियम ६५ करोड भारतीय रुपैयाँमा निर्माण गरिएको हो । यो रंगशालामा सन् २०१० को नोभेम्बर १२ देखि पहिलो टेस्ट खेलिएको थियो । उक्त टेस्ट भारत र न्युजिल्यान्डबीच खेलिएको थियो । तर, सन् २०१८ को अक्टोबर १२ देखि यो स्टेडियममा टेस्ट क्रिकेट आयोजना भएको छैन । अन्तिम टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो ।
यसैगरी यो स्टेडियममा सन् २००५ को नोभेम्बर १६ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइएको थियो । उक्त खेल भारत र दक्षिण अफ्रिकाबिच खेलाइएको थियो । पहिलो टी—२० खेल भने सन् २०१७ को अक्टोबर ३ मा भारत र अस्ट्रेलियाबिच खेलिएको थियो । अन्तिम टी—२० पनि सन् २०२२ को सेप्टेम्बर २५ मा भारत र अस्ट्रेलियाबिच नै खेलाइएको थियो । यो स्टेडियमका पिचलाई ब्याट्सम्यानहरूका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियमको पिचमा तुलनात्मक रूपमा बढी रन बन्ने गरेको छ । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाले चार विकेट गुमाएर सर्वाधिक तीन सय ५० रन बनाएको छ ।
यो स्टेडियममा बनेको सबैभन्दा कम योगफल भने इङ्ल्यान्डको नाममा छ । इङ्ल्यान्ड यो स्टेडियममा एक सय ७४ रन बनाउँदै अलआउट भएको छ । यही स्टेडियममा भारतले सन् २०१९ मा पाँच सयौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको थियो ।
यो स्टेडियममा सर्वाधिक रन बनाउने खेलाडी भारतका युवराज सिंह हुन् । उनले सन् २००५ देखि सन् २००९ को बिचमा यो स्टेडियममा तीन पाली खेल्दै दुई सय ३३ रन बनाएका छन् । सचिन तेन्दुलकरले तीन पालीमा दुई सय २० रन बनाएका छन् । यो रंगशालामा भारतका ओपनर ब्याट्सम्यान शुभमन गिलले दुई सय आठ रन बनाएका छन् । उनले सन् २०२३ को जनवरी २८ मा न्युजिल्यान्डविरुद्ध उक्त रन बनाएका हुन् । यसक्रममा उनले एक सय ४९ बलको सामना गरी नौ छक्का र १९ वटा चौका प्रहार गरेका थिए ।
यो स्टेडियममा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडी भने भारतका मोहम्मद सिराज हुन् । उनले यो स्टेडियममा एक पालीमा १० ओभर बलिङ गर्दै ४६ रन खर्चिएर चार विकेट लिएका छन् । उनले सन् २०२३ को जनवरी १८ मा न्युजिल्यान्डविरुद्ध यो सफलता हात पारेका थिए ।
सनराइजर्स हैदराबाद
लखनउ सुपर जाइन्ट्स
सनराइजर्स हैदराबाद
राजस्थान रोयल्स
सनराइजर्स हैदराबाद
चेन्नई सुपर किङ्स
सनराइजर्स हैदराबाद
दिल्ली क्यापिटल
सनराइजर्स हैदराबाद
कोलकत्ता नाइट राइडर्स
सनराइजर्स हैदराबाद
पञ्जाब किङ्स
सनराइजर्स हैदराबाद
रोयल च्यालेन्जर्स बैंग्लुरु