बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सिडिओसहितको टोली नौबिसे–नागढुङ्गा सडक अनुगमनमा

शनिबार, ११ असोज २०७६, १५ : २२
शनिबार, ११ असोज २०७६

काठमाडौँ । पछिल्लो केही दिनयता नौबिसे–नागढुङ्गा सडकमा भयानक सवारी जाम भएको समाचार आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालसहितको टोलीले स्थलगत निरीक्षण गरेका छन् । 

सिडिओ दाहालसँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल र यातायात व्यवस्था विभागका निर्देशक तीर्थ निरौलाको टोलीले नौबिसे–नागढुङ्गा सडकको स्थलगत निरीक्षण गरेका हुन् । 

अनुगमनको क्रममा सिडिओ दाहालले गल्छीबाट काठमाडौँ आइरहेको एक दर्जनभन्दा बढी ठूला ट्रकका चालकहरुलाई नागढुङ्गा आउन कति समय लाग्दोरहेछ भनेर चासो राखेका थिए । प्रायः सबै ट्रक चालकले २ देखि ३ घण्टाभित्र आइपुगेको जानकारी दिएको एसएसपी ढकालको भनाइ थियो ।  

अनुगमनको क्रममा सिडिओ दाहालले साँघुरो बाटो र पानी परेका कारण २, ३ घण्टा जाम भएको स्वीकारे । उनले भने, ‘सवारी जाम व्यवस्थापनको लागि फिल्डमा प्रहरी परिचलान गर्नेदेखि र्याकर, डोजरसम्म स्ट्यान्डबाई राखिएको छ ।’

यतिबेला नौबिसे–नागढुङ्गा सडकमा सवारी साधनको फ्लो राम्रोसँग भइरहेको उनले बताए । उनले भने, ‘यसरी नै यही फ्लोलाई निरन्तरता दिन सबै निकायलाई आदेश दिएको छु ।’ 

दशैंको बेला भएर पहिलाको तुलनामा सडकमा सवारीको जाम बढेको भन्दै अनुगमनमा पुगेका डीआईजी क्षत्रीले जनताले महशुस हुने गरी जाम हटाउन नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचलान भएको जानकारी दिए । 


‘सय÷सय मिटरको दूरीमा प्रहरी परिचलान गरेका छौं,’ उनले भने, ‘जहाँ जाम सुरु हुन्छ, त्यहाँ प्रहरी पुगेर सवारी साधनलाई फ्लो गर्न सहयोग पुर्याउँछन् ।’ साँघुरो र गाह्रो बाटोमा ओभरटेक गर्ने गाडीलाई तत्काल कारबाही पनि गर्न निर्देशन दिएको उनले बताए । 

यस्तै अनुगमनको क्रममा महाशाखाका एसएसपी ढकालले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिएको बताए । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नौबिसे–नागढुङ्गा सडकखण्डमा सवारी जाम भइरहेको समाचार मिडियामा आएपछि सिडिओ दाहाल, डीआईजी क्षत्री, एसएसपी ढकाललाई बोलाएर जाम हटाउन पहलकदमी लिन निर्देशन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप