शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी

सोमबार, १३ असोज २०७६, १२ : २३
सोमबार, १३ असोज २०७६

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् असोज १३ गते आजकै दिन माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएको छ भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिनुभएको छ ।

पूर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रूपमा प्रकट भई देवर्षी नारदको उपदेशले भगवान महादेव स्वामी पाउँ भनी अत्यन्त कठिन तपस्या गर्नुभएको थियो । कठोर तपस्या गरेकै कारण तपस्याचारिणी अर्थात ब्रह्मचारिणी नाम रहन गयो । एक हजार वर्ष फलफूल मात्र खाएर तपस्या गर्नुभयो भने सयौँ वर्ष मात्र साग खाएर जीवन निर्वाह गर्नुभएको थियो । खुला आकाशमुनि घामपानी सहेर निराहार कठोर तपस्या गर्नुभयो ।

तीन हजार वर्षसम्म सुकेर जमिनमा झरेको बेलपत्र खाएर श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गर्न लाग्नुभयो । त्यसपछि सुकेको बेलपत्र पनि खान छाड्नु भयो । कैयौँ हजार वर्षको तपस्याका कारण शरीर कमजोर हुन थाल्यो । ब्रह्मचारिणीको यो कठोर तपास्या देखी उनकी माता मेनका चिन्तित भइन् । माता मेनकाले यस्तो कठोर तपस्या तोड्नका निम्ति पटक पटक आग्रह गर्दा पनि निरन्तर तपस्या गरिरहिन् ।

ब्रह्मचारिणीको कठोर तपस्याका कारण तिनै लोकमा हाहाकार मच्चियो । देवता, ऋषि, सिद्धगण, मुनिहरू सबैले उनको तपस्याको चर्चा  परिचर्चा गर्न थाले  । अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भन्नुभयो– हे देवी आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पूर्ति हुनेछ र चाँडै नै भगवान श्रीमहादेव पतिको रूपमा तिमीले पाउनेछौ भनी ब्रह्मा अन्तध्र्यान हुनुभयो ।

तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल मिल्नेछ ।  नवरात्रको दोस्रो दिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्नेछ भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।  कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् आजकै दिन ब्रह्मचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीको पूजाविधि यस प्रकार रहेको छ ।

देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षत, रोली, चन्दनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधुले स्नान गरी प्रसाद चढाउनु पर्छ । प्रसादपश्चात आचमन र फेरि पान, सुपारी भेटी दिनुपर्छ । देवीलाई प्रदक्षिणा गर्नुपर्छ । कलश देवता पूजापछि यही प्रकारका नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गर्नुपर्छ  । देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्राथना गर्नुपर्छ ।

ब्रह्मचारिणी मन्त्र :

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।

देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

ब्रह्मचारिणी ध्यान :

वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।

जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम् ।।

गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।

धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।

परम वंदना पल्लवराधरां कांत कपोला पीन ।

पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

ब्रह्मचारिणी स्तोत्र पाठ :

तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।

ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।

शंकरप्रिया त्वंहि भुक्ति मुक्ति दायिनी ।

शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।

ब्रह्मचारिणी कवच :

त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।

अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।

पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।।

षोडशी सदापातु नाभो गृहो च पादयो ।

अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप