सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१३ औं दक्षिण एसियाली खेलकुदः तयारीलाई तिव्रता दिइँदै

बुधबार, २० कात्तिक २०७६, १३ : ३१
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । ‘जब राती बुढी ताती’ भन्ने उखान यतिवेला नेपाली खेलकुदमा ठ्याक्कै मिलेको छ । मंसिर १५ देखि २४ गतेसम्म नेपालका आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली खेलकुद अहिले व्यस्त छ । 
दक्षिण एसियाली खेलकुदको महाकुम्भ सागको उद्घाटन आउनै लाग्दा रंगशालाको मर्मतदेखि अन्य व्यवस्थापनको चटारोमा खेलकूद पदाधिकारी व्यस्त देखिएका छन् ।

पाँच अर्ब २५ करोड रुपैयाँ बजेट रहेको सागको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । यद्यपी सागको उद्घाटन र समापन हुने दशरथ रंगशालाको पूर्ननिर्माण कार्यले भने पूर्णता पाईसकेको छैन । भिआईपी प्यारापिटको मर्मत सहित छानो हाल्ने काम सकिन अझै समय लाग्ने देखिएको छ ।

राष्ट्रि«य खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सागको उद्घाटन अघिनै दशरथ रंगशालाको सम्पूर्ण काम सकिने दावी गरेका छन् । रंगशालाको साधारण प्यारापिटमा कुर्सी राख्ने काम अहिले धमाधम भइरहेको छ । भिआईपी प्यारापिटको छानो शनिबारसम्म चीनबाट नेपाल आईपुग्ने राखेपले जनाएको छ । सागमा समावेश २७ खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा खेलाइने छ । जनकपुरका कुस्सी खेल गर्ने नेपालको तयारी छ ।

यसैगरी सागमा समावेश सबै खेलमा भाग लिने नेपाल एक्लो देश बन्ने भएको छ । आयोजक नेपालले मात्र २७ वटै खेलमा भाग लिन लागेको हो । सागको सफल टोली भारतले भने १७ खेलमा मात्र सहभागिता जनाउन लागेको छ । भारतले क्रिकेट खेलमा समेत भाग नलिने निर्णय गरेको छ । भारतले क्रिकेट सहित आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाईडिङ, टेबुलटेनिस, लनटेनिस, तेक्वान्दो र कुस्ती खेल नखेल्ने निर्णय गरेको छ ।

सागमा नेपालपछि बंगलादेश र श्रीलंकाले सर्वाधिक २५ खेलमा सहभागिता जनाउन लागेका छन् । पाकिस्तानले १८ र भुटानले १४ खेलमाभाग लिने तयारी गरेका छन् । माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा भाग लिन लागेको छ । यसैगरी सागमा नेपालले स्वर्ण पदकको आश गरेको प्याराग्लाइडिङ खेल नहुने सम्भावना छ ।

कुनैपनि खेल हुन कम्तीमा चार देशको सहभागिता हुनुपर्छ । प्याराग्लाईडिङमा अहिलेसम्म नेपालले मात्र सहभागिताका लागि तयारी गरेको अवस्था छ । एकबर्ष अघि इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा पहिलो पटक रजत पदक जितेपछि जोसिएको नेपाली प्याराग्लाईडिङ टोलीले सागमा स्वर्ण जित्ने लक्ष्यका साथ पोखरामा तयारी गरेको थियो ।

१३औं सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुनेछ । सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कराँते, कबड्डी, खोखो, प्याराग्लाइडिङ, सुटिङ, पौडी, स्क्वास, टेबुलटेनिस, लनटेनिस, तेक्वान्दो, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उशु गरी २७ खेल समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप