उपनिर्वाचन : भक्तपुरका उम्मेदवारले पाए चुनावचिह्न

भक्तपुर । निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।
कार्यालयले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका नीरज लवजूलाई मादल चिह्न प्रदान गरेको कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाललाई गाई, साझा पार्टीका सुरज प्रधानलाई तराजू, समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मीलाई पाँचऔँलासहितको हत्केला, नेकपा (माले)का सुदर्शन लामिछानेलाई हँसियाहथौडा, नेपाली काङ्ग्रेस (बिपी) का मधुसूदन न्यौपानेलाई करुवा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामालाई दापसहितको खुकुरी चुनाव चिह्न प्रदान गरिएको छ ।
त्यसैगरी स्वतन्त्रतर्फ कृष्णप्रसाद ह्यामोलाई सिएफएल चिम, कृष्णराम पोतामाहालाई हातेपङ्खा, जीवन नेपालीलाई ब्याडमिन्टन कर्क, अर्जुन कोजूलाई भ¥याङ, राकेश सुवाललाई ड्रम, उत्तम शाखकर्मीलाई बालक, सुमना कार्कीलाई जीप, जीवनचन्द्र अधिकारीलाई चक्ला बेल्ना, सुजाता देउजालाई स्कुटर र सङ्गीता पौडेललाई घुम्ने कुर्सी चुनाव चिह्न प्रदान गरिएको बिसीले जानकारी दिए ।
नेकपा र काँग्रेसका चुनावी कार्यसूची
नेकपा र प्रमुख प्रतिपक्ष दल काँग्रेसका उम्मेदवारले उपनिर्वाचनका आआफ्नै कार्यसूची सार्वजनिक गरेका छन् । दुवैले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी चुनाव जित्ने आधार प्रस्तुत गरे । नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले भक्तपुरको विकासमा नेकपाबाहेक अरु दलले कुनै भूमिका निर्वाह गर्न नसकेको जिकिर गरे ।
उनले भने, “भक्तपुरको विकास नेकपाले मात्रै गर्न सक्छ भन्ने जनताले बुझिसकेका छन्, त्यसैले विकासको काम गर्न नसक्ने तर नेकपाले गरेको विकासमा अवरोध गर्ने र विरोध गर्ने प्रतिस्पर्धीले जित्ने कुनै तुक छैन ।”
उनले नेकपाको नेतृत्वमा २ नं क्षेत्र तथा र १ नं क्षेत्रको चाँगुनारायण क्षेत्रमा भएको विकास र आएको बजेट देखेका जनताको साथले नै नेकपाले चुनाव जित्ने निश्चित भएको जिकिर गरे ।
एकार्काको विरोध र आलोचना गरेरभन्दा पनि स्वच्छ प्रतिस्पर्धामा आउनुपर्ने बताउँदै प्रतिनिधिसभा सदस्य बस्नेतले भने, “नेकपा भक्तपुरको विकास र समृद्धि देखाएर अगाडि बढेको छ,नेकपाको नेतृत्वमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजना आएको छ, अबको तीन वर्षमा भक्तपुरले विकासमा ठूलो फड्को मार्ने छ, नगरकोटको सडक नबने ठेकेदारलाई कारवाही गरेर नयाँ ठेकेदारबाट काम गराइने छ ।”
पत्रकार सम्मेलनमा नेकपाका उम्मेदवार ढकालले भक्तपुरको भौतिक पूर्वाधारमा विशेष महत्वका साथ अघि बढ्ने, सडक सञ्जालको विस्तार तथा स्तरोन्नती गर्ने, ढल व्यवस्थापन गर्ने, प्रत्येक घरधुरीमा खानेपानीको व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, सिंहदरबारको पहुँचलाई सहज बनाउनेलगायत विकासप्रतिको जनताको चाहना र आवश्यकतालाई क्रमिक रुपमा पूरा गर्दै लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले भक्तपुरका संघीय सांसद र स्थानीय सरकार नेकपाको भएकाले प्रदेशमा पनि नेकपा हुँदा विकासका लहर धेरै हुन सक्ने बताउनुभयो । पूर्व प्रदेशसभा सदस्य हरिशरण लामिछानेको अधूरा काम पूरा गर्ने जिम्मेवारी नेकपाको उम्मेदवारमा आएकाले मतदानमार्फत लामिछानेप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरिने भनाइ उनले राखे ।
‘कर र महंँगीविरुद्ध काँग्रेस उम्मेदवारी’
काँग्रेसले दूधपाटीस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई तिहाइको कम्युनिष्ट सरकारले जनतामा कर र महंँगी थोपरेको भन्दै त्यसको विरुद्ध आफ्नो उम्मेदवारी दिइएको बताउनुभयो । उनले भने, “चुनावमा जाने मेरो छुट्टै घोषणापत्र र एजेण्डा केही छैन, जनताको विकासको चाहनालाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ ।”
उनले यहाँका जनतासँग मिलेर आफूले विकासनिर्माणमा हातेमालो गर्दै आएको जिकिर गर्दै यसलाई अझै वृद्धि गर्दै विकासलाई तीव्रता दिइने योजना रहेको बताए ।
काँग्रेस क्षेत्रीय सभापति जीवन खत्रीले आफ्नो अध्यक्षतामा २८ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको जानकारी दिँदै यसपटक जनताले काँग्रेसलाई मतदान गर्नेमा विश्वस्त रहेको बताए ।
‘तरूण निर्वाचनयात्रा’ शुरु
उपनिर्वाचनमा काँग्रेसलाई जिताउन काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले भक्तपुरबाट ‘तरूण निर्वाचनयात्रा’ शुरु गरेको छ । भक्तपुर क्षेत्र नम्बर १, प्रदेशसभा (क) निर्वाचन क्षेत्रमा ‘काँग्रेस जिताऔंँ अभियान’ सञ्चालन गरिएको तरूण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले बताए ।
भक्तपुरदेखि शुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरमा गएर टुङ्गिने उनले जानकारी दिए । अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा दलका उम्मेदवारको समन्वयमा चुनावी प्रचार, ¥याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवादलगायत कार्यक्रम हुने छन् ।