शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्ष: भद्रपुर विमानस्थलमा पहिलो हवाई यात्रुलाई सम्मान

बुधबार, १६ पुस २०७६, १४ : १०
बुधबार, १६ पुस २०७६

झापा । भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो । भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङघसंस्था, सहकारी संस्था र नेपाल कम्यु्निष्ट पार्टी पर्यटन विभाग झापा समितिले संयुक्त रुपमा आज बिहान पहिलो उडान श्री एयरलाइन्स र दोस्रो बुद्ध एयलाइन्सद्वारा काठमाडौबाट भद्रपुर विमानस्थल हुँदै आएका यात्रुलाई सम्मान गरेको नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले बताए ।

नगरपालिका र उड्डयन कार्यालयको संयुक्त पहलमा पूर्वी नेपालका पर्यटकीयस्थलबारे जानकारी दिन विमानस्थलमै डिजिटल डिस्प्ले बोर्डसमेत राखिएको छ । विमानस्थलबाट बाहिरिने यात्रुलाई पर्यटकीयस्थलका बारेमा जानकारीसहितको ब्रोसर बाँडिएको थियो । प्रमुख चुँडालले काठमाडौंँबाट झापा हुँदै आउने यात्रुलाई नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथासम्म एकै दिन घुमाएर ल्याउने व्यवस्थासमेत मिलाइएको बताए । 

उनले विमानस्थलबाट केचनाकवल गाडीमा लैजाने र सगरमाथाको आधारशिविरसम्म जान चाहने यात्रुलाई सीता एयरलान्यसद्वारा सोलुखम्बुको लुक्ला विमानस्थल पु¥याइने योजना रहेको बताए । उनका अनुसार आजदेखि शुरु गरिएको पहिलो हवाई यात्रुलाई सम्मान कार्यक्रम सात दिनसम्म चल्ने छ ।

पहिलो पर्यटकलाई ढाकाटोपी

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको थियो । सङ्घीय सांसद राम कार्की, प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय  प्रियङ्का मल्लिक, पिङ्की मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।

मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ । 

कार्यक्रममा विभिन्न जातजातिको  झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच तथा किराँत, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत गरियो ।

दिनभर काँकडभिट्टामा जातीय पहिचान र  कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र नेपालका पर्यटकीयस्थलका बारेमा दृश्यबोर्ड राखेर जानकारी गराइने नगर पर्यटन विकास समितिका संयोजक तथा नगर उपप्रमुख मीना उप्रेतीले बताइन् । पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्ड राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप