शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षः  ‘राइड टु निजगढ’

बुधबार, १६ पुस २०७६, १७ : २८
बुधबार, १६ पुस २०७६

बारा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बाराको निजगढमा ‘राइड टु निजगढ’ कार्यक्रम भएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बारा र होटल तथा पर्यटन व्यवसायी सङ्घको आयोजनामा कार्यक्रम भएको हो । 

‘राइड टु निजगढ’मा करिब ६० वटा साइकल, २०० मोटरसाइकल, पाँच वटा सफारीका साथमा करिब ३०० जनाले सहभागिता जनाएको भ्रमण वर्ष जिल्ला समन्वय समितिका सदस्य महेश्वर अधिकारीले जानकारी दिए । ‘राइड टु निजगढ’ले नगरका १३ वटै वडाको करिब ७० किलोमिटर भ्रमण गरेको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ बजारमा ‘राइड टु निजगढ’लाई परम्परागत रुपमा झाँकी, पञ्चेबाजा, स्काउट र एनसिसीले स्वागत गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ निजगढका उपाध्यक्ष रामकृष्ण घिमिरेले बताए । बारा जिल्ला प्रदेश नम्बर २ कै पर्यटकीय क्षेत्र भएका कारण पनि यस कार्यक्रमले पर्यटन वर्षको महत्व बढेको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले बताए । 

पर्यटन वर्षको शुरुआतस्वरुप निस्किएको साइकलयात्रामा सिमराबाट ३० जनाको टोली निजगढ आएको छ । निजगढको पर्यटकीयस्थलको भ्रमणसँगै आज अमलेखगञ्जमा आयोजना हुने समारोहमा साइकलयात्री सहभागी हुने कार्यक्रम रहेको छ । उता हेटौँडाबाट पनि एक साइकलयात्रीको टोली अमलेखगञ्ज समारोहमा सहभागी हुने भिजिट नेपाल २०२० का प्रदेश सचिवालय सदस्य मोहन शर्मा लामिछानेले बताए ।

साइकलयात्रीको स्वागतमा विभिन्न पर्यटन अभियन्ता, प्रदेश सांसद, राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो । अमलेखगञ्जलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने विभिन्न सामग्री प्रदर्शन गरिने कार्यक्रम रहेकोसमेत सचिवालय सदस्य तथा पर्यटन अभियन्ता लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप