मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुआब्जा नदिइ गेलुङखोला हाइड्रोपावरले थाल्यो काम, स्थानीयद्वारा चर्को विरोध

बिहीबार, २४ पुस २०७६, १७ : ५८
बिहीबार, २४ पुस २०७६

सिन्धुपाल्चोक । स्थानीयको सहमतिविनै सिन्धुपाल्चोकस्थित गेलुङ्खोला हाइड्रोपावरले ट्रान्समिसन लाइन विस्तार गर्न लागेपछि स्थानीयले चर्को विरोध गरेका छन् । 

सिन्धुपाल्चोकको हगाम थाङ्लाकोटमा निर्माणाधीन उक्त हाइड्रोपावरले चौतारा साँगाचोक गढिमाई नगरपालिका वडा नम्बर २ स्थित सेराखेतका स्थानीयको घरबास उठ्नेगरी धमाधम पोल गाड्न थालेपछि स्थानीय विरोधमा उत्रेका हुन् । 

पीडित स्थानीयले आफूहरुसँग कुनै सरसल्लाह नै नगरी प्रहरी प्रशासन लगाएर हाइड्रोपावरले आफ्नो घरजग्गामा पोल गाड्न थालेपछि विरोध गर्नुपरेको बताए । 

‘हामीसँग कुनै सल्लाह पनि गरिएको छैन । धमाधम पोल गाड्न थालिएको छ । हाम्रो त उठिबास नै लाग्ने भो,’ एक स्थानीयले रातोपाटीसँग भने, ‘हामी विकास विरोधी होइनौँ तर हाम्रो उठिबास लगाउन पाइँदैन । उचित मुअव्जा दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

स्थानीय पीडितहरुका अनुसार आयोजना पक्षले स्थानीय जनप्रतिनिधिहरुलाई समेत हातमा लिएर सरोकारवालाहरुसँग कुरै छलफल नै नगरी ३३ केभी प्रसारण लाइनको हाइटेन्सन बनाउन लागिएको छ । जसले आफूहरु विस्थापित हुनुपर्ने र वातावरणीय प्रभाव समेत बेहोर्नुपर्ने स्थानीयहरुको भनाइ छ । उक्त स्थानमा आयोजनाले जर्वजस्ती पोल गाडे झण्डै २० घरपरिवार मर्कामा पर्ने जनाएका छन् । 

तीन दशमलव २ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले सेराखेतमा जर्वजस्ती गरेपछि स्थानीयले जिल्ला प्रशानसन कार्यालय र जिल्ला अदालतमा समेत निवेदन दिएका छन् । स्टे अर्डरको माग गर्दै अदालतमा उजुरी दिएका पीडितहरुले आयोजनाले अदालतको आदेश समेत नकुरी काम अघि बढाएको गुनासो गरेका छन् । 

सीडीओदेखि वडाअध्यक्ष समेतको कनेक्सन
विरोध हुँदाहुदै पनि आयोजनाले जर्वजस्ती गर्नुमा प्रमुख जिल्ला अधिकारी गोमादेवी  चेम्जोङदेखि स्थानीय जनप्रतिनिधि समेतलाई आर्थिक प्रलोभनमा पारेको स्थानीयको आशंका छ । प्रमुख जिल्ला अधिकारीका चेम्जोङका आफन्त धु्रव कुमार राईको समेत सेयर लगानी रहेको तथा वडाअध्यक्ष दीपेन्द्र थापालाई आयोजनाले लाखौं रुपैयाँ दिएर आफूहरुलाई वेवास्ता गरेको पीडितहरुले बताएका छन्  । 

पीडितहरुका अनुसार विरोध गर्ने स्थानीयलाई आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठ, वडाअध्यक्ष थापा लगायतले जे पनि गर्नसक्ने भन्दै थर्काउँदै पोल गाड्न लगाएका हुन् । 

‘हामीले एकपटक गाडेका पोल भत्कायौँ । अहिले फेरि गाड्न तयारी राखिएको छ । हामी कुनै हालतमा गाड्न दिदैनाँै’, अर्का पीडितले, ‘बरु मर्न तयार छौँ, हामीलाई क्षतिपूर्ति नदिएसम्म हाम्रो जग्गामा पोल गाड्न दिदैनौँ ।’

यता प्रमुख जिल्ला अधिकारी चेम्जोङले भने २१० वटा पोल गाडिसकिएको अव दुईवटा पोलमात्र गाड्न बाँकी रहेको भन्दै विरोध गर्ने स्थानीयसँग जनप्रतिनिधि र आयोजनापक्षबीच छलफल जारी रहेको बताइन् । 

उनले हाइड्रोपावरमा आफ्ना आफन्तको सेयर नरहेको दावी पनि गरिन् । प्रमुख जिल्ला अधिकारी छेम्जोङले जिल्ला अदालतले समेत काम नरोक्न आदेश दिएकाले काम जारी राखेको र स्थानीयले अवरोध गरेपछि सुरक्षाका लागि सुरक्षाकर्मी पठाउनु आफ्नो दायित्व भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप