शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ईयूबाट ब्रिटेन अलग : टुट्यो ४७ वर्षको सहयात्रा

शुक्रबार, १७ माघ २०७६, १३ : ०८
शुक्रबार, १७ माघ २०७६

लन्डन । युरोपियन युनियन (ईयू) बाट बाहिरिने ब्रिटेनको लामो कसरतले शुक्रबार सार्थकता पाउँदैछ । ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरिसकेको छ । यसअन्तर्गत ३१ जनवरीमा स्थानीय समयअनुसार राति ११ बजे युरोपियन सङ्घबाट ब्रिटेन अलग हुँदैछ ।

यद्यपि सन् २०२० को अन्त्यसम्ममा ईयूको आर्थिक व्यवस्थामा रहिरहने छ । तर नीतिगत मामिलामा भने ब्रिटेनले हस्तक्षेप गर्नेछैन । अर्थात् ब्रिटेन ईयूको सदस्य रहनेछैन ।

४ वर्षसम्म चलेको खिचातानीमा ईयू संसदले ४९ का विरुद्ध ६२१ मतले ब्रेक्जिट सम्झौता अनुमोदन गरेको हो । यो सम्झौतालाई ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले २०१९ को अन्त्यमा ईयूका २७ नेताहरुका साथ वार्ता गरेर अन्तिम रूप दिएका थिए ।

ब्रिटेनले जुन २०१६ मा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिटलाई मन्जुरी दिएको थियो ।

के हो ब्रेक्जिट ?

ईयूबाट ब्रिटेन बाहिरिने प्रक्रियालाई ब्रेक्जिट भनिएको हो । ईयूमा २८ युरोपेली मुलुकका आर्थिक र राजनीतिक साझेदारी छ । दोस्रो विश्वयुद्धपछि आर्थिक सहयोग बढाउनका लागि ईयू गठन भएको थियो । व्यापारमा सहकार्य भएपछि मुलुकहरु आपसमा युद्धबाट जोगिन्छन् भन्ने सोच थियो । ईयूको आफ्नै मुद्रा ‘युरो’ छ । यो मुद्रा १९ मुलुकले प्रयोग गर्छन् ।

ब्रिटेन सन् १९७३ मा ईयूमा आबद्ध भएको हो । ईयूमा आबद्ध भएको ४७ वर्षपछि ब्रिटेनले ईयूसँगको सहयात्रा तोडेको हो ।

आवश्यकता किन ?

युरोपियन युनियनमा ब्रिटेनको कहिल्यै जोर चलेन । बरु ब्रिटेनका नागरिकको जीवनमा ईयूको नियन्त्रण हुन थाल्यो । ईयूले व्यापारका लागि ब्रिटेनमाथि कैयौँ सर्त लगाउँदै आएको छ । ईयूलाई वार्षिक रूपमा सदस्यता शुल्कबापत अर्बौं पाउन्ड रकम दिँदासमेत देशलाई त्यति फाइदा नभएको ब्रिटेनका राजनीतिक दलहरुको बुझाइ छ । त्यसैले ब्रिटेनमा ब्रेक्जिटको माग उठेको हो ।

पारम्परिक गीतबाट बिदाइ

ईयूको संसदमा ब्रेक्जिटका लागि मतदानका क्रममा भावुक माहोल बनेको थियो । मतदानपछि सांसदहरुले ब्रिटेनका लागि पारम्परिक गीत गाए । ईयू अध्यक्ष उर्सुला भानले ब्रिटेनका चर्चित लेखक जर्ज इलियटका पङ्क्ति उद्धृत गर्दै भनिन्, ‘अलग हुनुको दुःखमा पनि हामी आफ्नो प्रेमको गहिराइलाई हेर्छौँ ।’ ब्रिटिस सांसदहरुले फेरि यो टिममा फर्कने विश्वास दिलाउँदै ‘लङ्ग लिभ युरोप’को नारा लगाए । कतैकतै भने ब्रेक्जिटको औपचारिक प्रक्रिया पूरा भएकोमा खुसी देखियो ।

असर

ईयूबाट अलग भएपछि ब्रिटेनले अर्थव्यवस्थामा केही नोक्सान सामना गर्नुपर्ने देखिन्छ । ईयूबाट बाहिरिएसँगै ब्रिटेनमा वस्तु र सेवाहरुमा कर लाग्ने छ, यसले महँगी बढाउने छ ।

ब्रिटेन अलग भएपछि ईयूको अर्थव्यवस्थामा पनि त्यसको असर देखिने छ । यतिबेला वैश्विक अर्थव्यवस्थामा ईयूको हिस्सेदारी २२ प्रतिशत छ । ब्रिटेन अलग भएपछि वैश्विक अर्थव्यवस्थामा ईयूको हिस्सेदारी १८ प्रतिशतमा झर्नेछ । ईयूको जनसङ्ख्यामा पनि १३ प्रतिशत कमी आउने छ ।

अर्कोतिर ईयूमा जर्मनीको जीडीपी २० प्रतिशतबाट बढेर २५, फ्रान्सको १५ बाट बढेर १८ प्रतिशत हुनेछ । अमेरिका पनि फाइदामै रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप