बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

टर्कीका राष्ट्रपति अर्दोआनको एक कदमले युरोपमा खैलबैला

सोमबार, १९ फागुन २०७६, १० : १९
सोमबार, १९ फागुन २०७६

टर्की र सिरियाबीच संघर्ष तीब्र हुँदा अब युरोपमा नयाँ संकट पैदा भइरहेको देखिएको छ ।

टर्कीले आफ्नो देशमा बसिरहेका सिरियाली शरणार्थीका लागि युरोप प्रवेशका लागि ‘द्वार खोलिदिएको छ’ । यसै कारण टर्कीको छिमेकी देश र युरोपेली संघको ‘प्रवेश द्वार’ ग्रीसले मुश्किलको सामना गर्नुपरिरहेको छ ।

यता ग्रीक सरकारले देशमा शरण दिनका लागि आवेदन दिन बन्द गरेको र गैर–कानूनी ढङ्गले प्रवेश गर्नेहरुमााथि कडा व्यवहार अपनाइने जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ग्रीसले करिब १० हजार प्रवासीलाई आफ्नो देशमा प्रवेशको रोक लगाएको छ । यतिबेला प्रवासीले ग्रीक बोर्डर गार्डमाथि ढुङ्गा हानाहान गरे । बोर्डर गार्डले अश्रु ग्यास प्रयोग गर्नुपर्‍यो ।

अब युरोपेली परिषदका अध्यक्षले ग्रीस र टर्कीको सीमाको निगरानी राख्ने तयारीमा छन् ।

टर्कीमा यतिबेला करिब ३७ लाख शरणार्थी छन् । अब उनीहरुले यी शरणार्थीलाई युरोपतर्फ जाने अनुमती दिइरहेका छन् । टर्कीले यो निर्णय इदलिब प्रान्तमा सिरियाली हवाई हमलामा आफ्ना ३३ सैनिकको मृत्युपछि लिएको थियो ।

के हो घटना ?

सिरियासँग टर्कीको लामो सीमा छ । गृहयुद्धसँग जुधिरहेको सिरियाबाट ठूलो संख्यामा बिस्थापितहरुले टर्कीमा शरण लिएका छन् । यतिबेला टर्कीमा ७ लाख सिरियाली शरणार्थी छन् । यसबाहेक अफगानिस्तान र अन्य स्थानबाट आएका प्रवासी पनि ठूलो संख्यामा छन् ।

युरोपेली संघसँग सन् २०१६ मा भएको सम्झौता अनुसार टर्कीले उनीहरुलाई युरोप प्रवेश गर्न रोक्दै आएको थियो । तर अर्दोआनले युरोपेली संघले यो सम्झौताको शर्त पालना नगरेको आरोप लगाउँदै आएका छन् । समय समयमा अर्दोआनले यी विषयमा युरोपेली संघमाथि दबाब दिँदै आएका छन् ।

अब इदलिबमा आफ्नो सैनिकको मृत्युपछि राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले टर्कीको ‘ढोका खोलिएपछि’ सीमामार्फत् १८ हजार प्रवासी युरोप गएको बताएका छन् । उनका अनुसार अबका दिनमा यो संख्या २५ हजारदेखि ३० हजार हुनसक्छ ।

टर्कीको यो निर्णयका कारण उसको छिमेकी देश र युरोपेली संघको बाहिरी सीमा भएको देश ग्रीसको समस्या सुरु भएको छ । ग्रीक प्रधानमन्त्रीले सीमामा सुरक्षालाई अत्यधिक कडा गरिदिएको छ । ग्रीसले अर्को महिनाका लागि शरणको आवेदन लिन बन्द गरेको जानकारी दिएको छ ।

ग्रीसले युरोपेली संघ सम्झौताको एक आपतकालीन प्रावधान लागू गरेको प्रधानमन्त्रीले घोषणा गरेका छन् । उनले भने, ‘ग्रीसको सीमा युरोपको बाहिरी सीमा हो । हामीले त्यसको रक्षा गर्नेछौं । एक पटक पुनः भन्छु, ग्रीसमा गैर कानूनी ढंगले प्रवेश गर्ने कोसिस नगर्नुहोस्, तपाईंलाई फिर्ता पठाइनेछ ।’

ग्रीक सरकारले २४ घण्टामा १० हजार प्रवासीलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएको दाबी गरेको छ । उनका अनुसार कम्तीमा ५ सय जनाले डुङ्गामार्फत् विभिन्न द्वीप प्रवेश गर्ने कोसिस पनि गरेका थिए ।

टर्कीले यी प्रवासीलाई युरोप प्रवेश गर्न प्रोत्साहित गरिरहेको ग्रीसले आरोप लगाएको छ । यहाँका उप–रक्षामन्त्री एल्किवियादिसले भने, ‘उनीहरुले यसो गर्न रोक्नुको साटो मद्दत पो गरिरहेका छन् ।’

ग्रीसका प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्, ‘मंगलबार युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलसँग मिलेर टर्कीसँग लागेको सीमामाथि निगरानी राख्नेछौं ।’

युरोपेली संघले आफूले आफ्नो नियम अनुसार ग्रीस र बुल्गरियाको मद्दत गरिरहेको बताएको छ । बुल्गरियाको सीमा पनि टर्कीसँग लाग्छ ।

सिरियामा तनाव बढ्योः

यता टर्कीले उत्तरी सिरियामा आफ्नो सैन्य अभियान तीब्र बनाउँदै आइतबार सिरियाका दुई लडाकू विमान खसालेको छ ।

दुबै विमानका पाइलट प्यारासुटमार्फत् इदलिब प्रान्तमा सुरक्षित अवतरण गर्न सफल भए । यो इलकामा टर्कीका सैनिक र विद्रोहीको सिरिया सरकारको बलसँग संघर्ष चलिरहेको छ ।

टर्कीले सिरियाको एयर डिफेन्स सिस्टम र दर्जनौं ट्यांकलाई पनि निशाना बनाएको बताएको छ ।

इदलिब प्रान्तमा पछिल्लो हप्ता एक हवाई हमलामा टर्कीका ३३ सैनिकको मृत्यु भएको थियो । यसै कारण टर्की र सिरियाका मुख्य सैन्य सहयोगी रुससँग तनाव बढ्ने आशंका पैदा भएको थियो ।

तर आइतबार टर्कीका विदेश मन्त्री हुलुसू अकारले उनको देश रुससँग कुनै प्रकारको संघर्ष नचाहने बताएका छन् । टिभीमा प्रसारित बयानमा उनले भने, ‘हामी रुसबाट आशा गर्छौं कि उसले सिरियाको तर्फबाट भइरहेको हमलालाई रोक्नेछ । रुससँग उल्झने हाम्रो कुनै उद्देश्य छैन ।’

अकारका अनुसार ‘स्प्रिंग शील्ड’ नामको अभियानअन्तर्गत सिरियाको एउटा ड्रोन, आठ हेलिकोप्टर, १०३ ट्यांक, विभिन्न रकेट लञ्चर र अन्य सैन्य उपकरण नष्ट गरियो ।

उनले सिरियाली बलका २ हजार २ सय १२ सदस्यलाई न्यूट्रलाइज गरिएको पनि बताए । न्यूट्रलाइजको अर्थ मार्नु, घाइते बनाउनु वा पक्राउ गर्नु हो ।

तर सिरियामा भएका बेलायती पर्यवेक्षक ‘सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स’ ले २७ फेब्रुअरीपछि अहिलेसम्म ७४ सरकारी सैनिक र सरकार समर्थक लडाकु मारिएको जानकारी दिएका छन् ।

उत्तर सिरियामा सिरियाली सरकारको तर्फबाट चलाइएको अभियानलाई रुसले पूर्ण रुपमा समर्थन गर्छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले यहाँ युद्धविरामको अपिल गरेको थियो तर रुसले यो खारेज गर्दै जबसम्म यो इलाकाबाट ‘आतंकवादी’ समाप्त हुँदैनन् तबसम्म समस्या हल नहुने बताउँदै यो खारेज गरेको थियो  ।

शुक्रबार टर्की र रुसका राष्ट्रपतिको फोन वार्ता भएको थियो । यी दुईले स्थितीलाई सामान्यमा ल्याउनका लागि अतिरिक्त कदम उठाउन आवश्यक भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप