प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न अनुमति
बिहीबार, २२ फागुन २०७६, १८ : ५९

काठमाडौं । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद दिइएको छ । कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।
अछाम क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।