बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारीविरुद्ध नागरिक सडकमा

सोमबार, २६ फागुन २०७६, १५ : ३२
सोमबार, २६ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए ।

कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
 
कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन । सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए । सो अवसरमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए ।
 
शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गरेका थिए । देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरे ।

सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना सङ्कलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानूनी कारवाहीका लागि दिन लागिएको जानकारी पनि संयोजक कुँवरले दिएका थिए । सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप