मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका प्राइमरीः जो बाइडेन ४ वटा राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजूक

बुधबार, २८ फागुन २०७६, १८ : ५२
बुधबार, २८ फागुन २०७६

वासिङ्टन । डेमोक्रेटिक पार्टीका तर्फबाट भावी अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार छान्न भइरहेको चुनावमा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन चारवटा राज्यमा विजयी भएका छन् । डेमोक्रेटिक पार्टीबाट चुनिने व्यक्तिले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

पार्टीको यस प्राइमरी चुनावमा बाइडेन धेरै प्रतिनिधि चुनिने मिसिगन समेत मिजौरी, मिसिसिपी र इडाहोमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पछिल्लो चुनावी नतिजाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ । 

बाइडेनलाई कामकाजी मतदाता र अफ्रिकन अमेरिकन समुदायको ठूलो समर्थन रहेको छ । अमेरिकी चुनावमा यी दुई पक्षको समर्थन चुनावी नतिजा आफ्नो पक्षमा पार्न निकै महत्वपूर्ण रहने गरेको छ । 

उता सिनेटर स्यान्डर्सले भने नर्थ डकोटा र वासिङ्टन स्टेटमा जित दर्ता गरेका छन् ।

फिलाडेल्फियामा समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले शुरुआती चुनावी दौडमा कमजोर नतिजा ल्याएपछि धेरै व्यक्तिले निराशा व्यक्त गरेको भएपनि अहिले परिस्थिति फेरिएको र आफू चुनावी प्रतिस्पर्धामा रहेको बताए । उनले स्यान्डर्सका समर्थकहरुलाई पनि आफूलाई मतदान गर्न आग्रह गरे ।

‘मलाई तपाईंहरुको सहयोग चाहिएको छ र तपाईं हरेकको योगदान मेरो चुनावी अभियानमा जरुरी छ । म बर्नी स्यान्डर्स र उहाँका समर्थकहरुलाई अविश्रान्त मिहिनेतका लागि धन्यवाद दिन चाहन्छु । हामी सबैको साझा लक्ष्य छ, त्यो भनेको हामी सबै मिलेर डोनाल्ड ट्रम्पलाई परास्त गर्नु हो ।’ 

एपीको चुनावी विश्लेषण अनुसार हालसम्म जो बाइडेनले ८२३ र बर्नी स्यान्डर्सले ६६३ जना मत–प्रतिनिधि जित्नु भएको छ । राष्ट्रपतिमा मनोनयन हुन बाइडेनलाई अझै ११६८ र स्यान्डर्सलाई १३२८ मत आवश्यक छ । –एपी/Photo: AP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप