मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डा. सुनिल शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउन पर्दैन ?

सोमबार, ०३ चैत २०७६, २० : ०१
सोमबार, ०३ चैत २०७६

बिराटनगर । नेपाली काँग्रेसका  नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउनुपर्ने सावधानीप्रति नेताहरु संवेदनशील नभएको  र पार्टी प्रवक्ता शर्माले पनि प्रचारप्रसारकाे माध्यमबाट उचित भूमिका नखेलेकाे भन्दै सामाजिक सञ्जालबाटै आक्रोस प्रकट गरेका हुन् ।

शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन भन्दै प्रश्न गरेका छन् । 

‘एयरकण्डिसन भएको भवन हो पार्लियामेण्ट, कांग्रेसका सांसदलाई संसदमा जानबाट किन नरोकेको ?,’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन ‘विद्यालय बन्द हुने, परीक्षा रोकिने तर सयौं बिशिष्ट व्यक्ति भेला हुने संसद चै नरोकिनुपर्ने कारण को हो ?’ जो सुकैको असावधानीले पनि कोरोनाको संक्रमण फैलनसक्ने हुनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रीय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ ।

कोरोनाको संक्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् । 

‘नेतृ मञ्जु खाँडको सिरहा र जनकपुरको कार्यक्रममा कोरोना नआउने, बालकृष्ण दाइको ललितपुरको कार्यक्रममा कोरोना नआउने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ?’ उनले प्रश्न गरेका छन् । 

‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?,’ व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सबै कार्यकर्ताले बुझ्ने गरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र महासमिति सदस्य डा.सुनिल शर्मा दुवै झापाली हुन् । प्रवक्ता शर्मा काँग्रेसको उदयवान नेताको रुपमा परिचित छन् भने डा.शर्मा पनि राजनीतिसँँगै समाजसेवाका माध्यमबाट लोकप्रिय छन् ।

झापामा जन्मिएर मोरङलाई राजनीतिक कार्यक्षेत्र बनाएका डा.शर्मा प्रतिनिधिसभा निर्वाचनमा ४० हजार ५ सय ६ मत ल्याएर बाम गठबन्धनका उम्मेद्वार एवं वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएका थिए।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप