नेपाल–भारत सीमा नाका जमुनाहमा सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक
कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।
दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
अहिले भारतबाट घर फर्किने नेपालीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छन् । त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन् ।
यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशङ्कामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो । यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् ।
अर्कोतर्फ, कोरोना भाइरसको कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको सङ्ख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो ।
मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको सङ्ख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।
कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ ।
“हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ”, होटल व्यवासायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन् । भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन ।
सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
“भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक रु एक करोड बढी राजश्व सङ्कलन भइरहेको छ”, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण