शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड

शुक्रबार, १९ असार २०८३, २० : ०१
शुक्रबार, १९ असार २०८३

काठमाडौँ। सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत क्रिकेटर शेर मल्ल स्पेसल अवार्डबाट सम्मानित भएका छन्।

धनगढीमा आयोजित कार्यक्रममा दायाँ हाते लेग स्पिनर मल्ललाई नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै स्पेसल अवार्ड प्रदान गरिएको हो। उनले ३५ हजार नगद समेत प्राप्त गरे। 

मल्लले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सबाट १० खेल खेल्दै १७ विकेट लिएका थिए। उनी एनपीएलमा लगातार दोस्रो पटक उपाधि जित्ने खेलाडीसमेत बनेका थिए।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। विश्वकपअन्तर्गत इङ्ग्ल्यान्डविरुद्धको खेलमा उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच आउट गराउँदै आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिएका थिए।

शेर मल्लको जन्म सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित के।आई।सिंह गाउँपालिकामा भएको हो। बाल्यकालमै उनी परिवारसँग भारतको पञ्जाब पुगेका थिए, जहाँ उनका बुबाआमा रोजगारीका लागि बस्दै आएका थिए। पञ्जाबमै हुर्किएका मल्लले गल्ली क्रिकेटबाट आफ्नो यात्रा सुरु गर्दै विद्यालय र जिल्लास्तरीय प्रतियोगिताहरूमा खेल्दै क्रिकेट करिअर अघि बढाएका थिए।

क्रिकेटमा व्यावसायिक अवसर खोज्दै उनी २०७५ सालमा नेपाल आएका थिए। धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगबाट नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाएका मल्लले त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गरेका हुन्।

अवार्ड ग्रहणपछि मल्लले अझै आफूले धेरै राम्रो प्रदर्शन गर्न बाँकी रहेको बताए। यस्ता सम्मानले खेलाडीहरूको आत्मबल बढाउने उल्लेख गर्दै उनले सबैको साथ, सहयोग र विश्वासकै कारण आफू यो स्थानसम्म पुग्न सफल भएको प्रतिक्रिया दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप