सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘फोर्स लिभ मान्य हुन्न, बैंकका कर्मचारी हटाउने दुष्प्रयास नहोस्’

बिहीबार, ११ वैशाख २०७७, १७ : ०२
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा हुँदै आएको अनिवार्य बिदा (फोर्स लिभ) र कर्मचारी निष्कासनको प्रयासका सम्बन्धमा कर्मचारीको संस्था बोलेको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले  बैंक, वित्तीय संस्था तथा अन्य गैरबैंकिङ वित्तीय संस्थाहरुमा कर्मचारीहरुलाई फोर्स लिभमा पठाउने गरेको, कर्मचारी कटौती गर्ने प्रयास गरेको भन्दै त्यस्तो प्रयास नगर्न बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनलाई चेतावनी दिएको हो । 

कोरोनाभाइरस (कोभिड–१९) का कारण अर्थतन्त्र शिथिल बन्दै गएपछि कतिपय उद्योगी व्यवसायीले आफ्नो संस्थामा कार्यरत कर्मचारी तथा मजदूरहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् । 

केही बैंक तथा वित्तीय संस्थाहरुले यही मौकामा कर्मचारी कटौती गर्ने प्रयास गरिरहेका छन् । लकडाउनको यो विषम परिस्थितिमा कर्मचारीलाई आम्दानीबाट विमुख हुने वातावरण नबनाउन संघले चेतावनी दिएको हो । 

संघका अध्यक्ष पदमराज रेग्मीले अहिले पनि केही बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई लकडाउन अवधिमा बिदामा बसेवापत अर्को वर्षको समेत सिञ्चित बिदाबाट कट्टा गर्ने गरेको र त्यतिले पनि नपुगे तलब नै काट्ने तयारी गरेकोले लकडाउन अवधिको तलब कुनै पनि हालतमा काट्न नहुने बताए । 

बोनस कट्टा गर्ने भए सीइओको तलब घट्नुपर्छ 
फियनले बैंकिङ क्षेत्रका कर्मचारीले नाफामा पाउँदै आएको बोनस यो वर्ष कट्टा गर्ने तथा लगानीकर्तालाई लाभांश नबाँड्नेगरी बैंकरहरुले गरेको प्रस्तावप्रति पनि असहमति जनाएको छ । सरोकारवालाहरुसँगको सहमतिबिना नै एकतर्फी रुपमा त्यस्तो निर्णय गरे आफूहरुलाई मान्य नहुने उनीहरुको भनाई छ । 

अध्यक्ष रेग्मीले प्रश्न गरे, ‘बैंकका सीइओहरुले अहिले दशौं लाख तलब लिइरहेका छन् । मनलाग्दी कर्मचारी निकाल्ने, फोर्स लिभमा पठाउने, बोनस नदिने भन्ने हो भने उच्च व्यवस्थापनको तलब र सञ्चालकहरुको भत्ता कटौती गर्ने कि नगर्ने ?’

कुनैपनि कार्टेलिङ अमान्य
फियनले बैंकिङ क्षेत्रमा विभिन्न संघ संस्थाको नाममा भएको कार्टेलिङ अन्त्य गर्न समेत माग गरेको छ । बैंकका निक्षेपकर्ता, लगानीकर्ता र ऋणी र नियामकलाई समेत वेवास्ता गर्दै विभिन्न संघ संस्थाको नाममा भएको निर्णयले बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदे जाने संघको तर्क छ । 

‘हामी बैंकका कर्मचारी, उच्च व्यवस्थापन, सञ्चालक समिति, र नियामकबीच सौहार्दपूर्ण ढंगले काम भएको हेर्न चाहन्छौं’, नेपाल बैंकर्स संघ र नेपाल वित्तीय संस्था परिसंघले गरेका निर्णयप्रति लक्षित गर्दै अध्यक्ष रेग्मीले भने, ‘तर पछिल्लो समय बैंकभित्र के गर्ने, के नगर्ने भनेर बैंक बाहिर र नियामकभन्दा पनि बाहिरबाट निर्णय हुन थालेको छ, यसले कसैलाई पनि राम्रो गर्दैन ।’

१४ औं लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राख्दै आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेर अत्यावश्यक बैंकिङ सेवालाई सुचारु राख्न आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप