शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारको आग्रह : भयभित र त्रसित होइन, उच्च सतर्कता अपनाऔं

मङ्गलबार, ०६ जेठ २०७७, १८ : ०४
मङ्गलबार, ०६ जेठ २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदशवासीलाई कोरोना भाइरसबाट भयभित र त्रसित नभई उच्च सर्तकता र सावधानी अपनाउन आग्रह गरेको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)ले विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकट सिर्जना गरेको भन्दै मन्त्री रावलले यो संकटबाट हाम्रो देश र प्रदेश पनि अछूतो रहन नसकेको जनाएका छन् ।

उनले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकारले आफ्ना सबै श्रोत साधनको परिचालन सहित लागिरहेको पनि प्रस्ट पारेका छन् । 

जेष्ठ ५ गते कर्णाली प्रदेश अन्तर्गत दैलेखको आठविस नगरपालिका वडा नं. १ निवासी ३५ वर्षीय पुरुषमा (कोभिड–१९)को संक्रमण पुष्टि भएको थियो । मन्त्री रावलले कर्णाली प्रदेशमा संक्रमण हुन नदिने उद्धेश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कता सहित काम गरिरहेको अवस्थामा देखिएको यो घटनाप्रति दुःख प्रकट गर्दै छिमेकी मुलुक भारतवाट आई क्वारेन्टाईनमा राखिएका व्यक्तिमा संक्रमण देखिएको र निज व्यक्ति समुदायमा प्रवेश गरिनसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन तर थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न संक्रमित व्यक्ति, निजका परिवारजन तथा समग्र कर्णालीबासीमा अनुरोध गरेका छन् । 

त्यस्तै उनले कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मेशिन सहितको प्रयोगशाला स्थापना गरि दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्यसमेत भइरहेको जनाएका छन् ।

उनले पुनःपुष्टिका लागि रिफरेन्स ल्यावमा मा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम प्रदेशमा गरिएको आरटी पीसीआर परीक्षणको १० प्रतिशत नेगेटिभ सहित सवै पोजिटिभ स्याम्पलहरु पुनःपुष्टि गर्न नेपालगञ्ज अथवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेकाले प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन अनुरोध गरेका छन् ।

‘स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडीटी टेस्ट गरी सम्बन्धित स्थानीय तहमा पठाउने, स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाईन अवधि पुरा भएपछि अनिवार्य पीसीआर विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ’ मन्त्री रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै कर्णाली प्रदेशमा यसअघि पनि दुवै विधिबाट सन्तोषजनक रुपमा कोरोना परीक्षणको कार्य भइरहेको भन्दै स्वदेश तथा विदेशका जोखिमयुक्त क्षेत्रबाट प्रदेश भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तिव्रताका साथ अगाडि बढाइएको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप