रुकुम घटनाः मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता
जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ । अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।
घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए ।
उनले भने, ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।’ अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिए ।
पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण