कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या ४९४ पुग्यो
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना गएको बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।
दैलेखको महाबु आइसोलेसन सेन्टरबाट १०६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै कोरोना जीतेर १५२ जना घर फर्किएका हुन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ४९४ पुगेको छ । अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।
हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यस्तै, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै १९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए । दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन १९१ जनाले कोरोना जितेका हुन् ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना जितेर घर फर्किनेको संख्या बढिरहेको बताउँदै घरमा पनि सर्तकर्ता अपनाउन अनुरोध गरे ।
उनका अनुसार कर्णालीमा कोरोना पृष्टि भएका तीन जनाको हालसम्म मृत्यु भएको छ । भने, दैलेखमा ६ सय ३६ जना, हुम्ला र डोल्पामा एक÷एक तथा मुगुका दुई जना, सल्यान एकसय ३७, सुर्खेत दुईसय ३७, जाजरकोट आठ, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टि भएको छ ।