मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा रेबिजविरुद्ध खोप लगाउनेको संख्या बढ्यो

बुधबार, ३१ असार २०७७, १४ : ३५
बुधबार, ३१ असार २०७७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय  रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै  अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उनका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उनले भने, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”

कोभिड–१९ को उपचारका लागि तोकिएको  अस्पतालले अहिले अधिकांश रोगको उपचार अरू अस्पतालमा सारेको छ । प्राविधिक रुपमा कठिन हुने भएकाले रेबिजविरुद्धको उपचार भने अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा कुनाबाट  खोप सेवा सञ्चालन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । उनले भने, “कतिपय समस्याको उपचार यही अस्पतालमा मात्रै हुने भएकाले बिरामी  टाढाटाढाबाट समेत आइरहेका छन् ।”

अस्पतालमा कोभिड–१९ को परीक्षण भइरहेको छ । दैनिक सात सयदेखि एक हजार तीन सय जनासम्म परीक्षणका लागि आइरहेका छन् । अस्पतालले भने  आवश्यक भए÷नभएको हेरेर मात्रै परीक्षण गर्दै आएको छ । अस्पतालमा पिसिआर परीक्षणका लागि आएकामध्ये २० देखि २५ प्रतिशको मात्रै परीक्षण भइरहेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक श्यया पनि बढाइरहेको जनाइएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप