सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

३ वर्षदेखि सेती नदीमा बेपत्ता प्रहरीको अवस्था अझै अज्ञात

सोमबार, ०८ भदौ २०७७, १७ : ५८
सोमबार, ०८ भदौ २०७७

गुल्मी । नेपाल प्रहरीका एक प्रहरी कर्मचारी ३ वर्षअघि तनहुँमा कार्यरत छँदा सेती नदीमा बेपत्ता भएका थिए । जसको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । तनहुँको भिमाद नगरपालिका २ (साविक अरुणादय गाविस वडा नम्वर १) घर भएका अन्दाजी ३० वर्षीय सन्तबहादुर थापा ईलाका प्रहरी कार्यालय भिमादमा कार्यरत छँदा बेपत्ता भएका हुन्  ।

प्रहरी कार्यालय सहयोगीको दरवन्दीमा नियुक्त पाएका थापा मेसमा खान पकाउने डिउटी मै भएका बेला २०७४ साल भदौं ३ गते अत्याधिक मदिरा सेवन गरि सेती नदीमा बेपत्ता भएको प्रहरीको भनाई छ । हालसम्म उनको अवस्था अज्ञात छ । उनी बेपत्ता भएपछि घरवास र अन्य अर्थिक श्रोत पनि नभएकी उनकी श्रीमती ईन्दुकुमारी थापा र उनका दुई छोराछोरी विचल्लीमा परेका छन् । उनको परिवार अहिले गुल्मीको सदरमुकाम तम्घासमा रहेको छ ।

‘धेरैपटक तनहुँ धाएँ । बेपत्ता भएको दुई वर्षपछि श्रीमानले पाउनुपर्ने सेवा सुविधा पाइन्छ भनियो । पछि जाँदा १२ वर्षपछि पाइन्छ भनियो । त्यसपछि दुई तीनपटक काठमाडौं पनि धाएँ’– इन्दुकुमारीले भनिन्– ‘ अहिलेसम्म कतैबाट न्याय पाउन सकिन् ।’

जिल्ला प्रहरी कार्यालय गुल्मीमा छँदा आजभन्दा १७ वर्षअघि आफु्हरुबीच प्रेम विवाह भएको श्रीमती थापाले बताइन् । श्रीमान बेपत्ता हुँदा जागिर अवधि चौध पन्ध्र वर्ष भइसकेको थापाको भनाई छ । बाग्लुङ्गको ग्वालीचौर माईती घर भएकी थापा सानैदेखि आमाको माईती तम्घासमा बस्दै आएकी थिइन् । बृद्धा आमाको आर्थिक अवस्था पनि कमजोर भएको र घरतिर पनि आर्थिक अवस्था दयानीय भएकोले आफु तम्घासमै अरुको घरमा काम गर्दै डेरा गरेर बसिरहेको उनको भनाई छ ।

आफु अहिले भाडा तिर्न समेत नसक्ने अवस्था रहेको उनले पीडा सुनाईन् । उनी अहिले १६ वर्षीय अपाङ्ग छोरी पालेर बसेकी छन् भने छोरा १२ वर्षका भए । उनीहरुको पठनपाठनमा निकै समस्या आएको थापाले बताइन् । श्रीमानको नाममा पाइने कट्टिपट्टि रकम मध्येबाट पेश्की स्वरुप भएपनि प्रहरी संगठनले सामान्य घर घर्चका लागि उपलब्ध गराई दिनुपर्ने माग उनको छ ।

यससम्वन्धमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुबेर कठायतको ध्यानकृष्ट गराउँदा उनले कानुन नहेरी आफुले केहि बोल्न नमिल्ने भन्दै बेपत्ताकी श्रीमतीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा आएर बुझ्दै कानुनअनुसार प्रकृया पुर्याएर काम अघि बढाउन सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप