मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा सुवर्णशम्शेरले रोक्नुभएको थियो’

नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहान्छुः शेखर कोइराला
सोमबार, २९ भदौ २०७७, १६ : ०१
सोमबार, २९ भदौ २०७७

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली समाजको रुपान्तरणमा काँग्रेसका संस्थापनक मध्येका नेता सुवर्णशम्शेर राणाको ठूलो योगदान गरेको बताएका छन् । नेपाली काँग्रेसमा सुवर्णशम्शेरको योगदान र पार्टीको निर्णायक तहमा महिलाको सूनिश्चितता, बिषयक भर्चुअल कार्यक्रममा निधिले भने, ‘बजेटको व्यवस्था पनि सुर्वणशम्शेरको पालामा भएका थियो । नेपालको लोकत्रान्तिक व्यवस्थाका लागि उहाँँको अतुलनीय योगदान छ ।’

निधिले सुवर्णशम्शेरलाई एउटा निष्ठा र त्यागी नेताका रुपमा सम्झिए । उनले भने, ‘२०१५ सालमा राजाले सुवर्णशम्शेरलाई प्रधानमन्त्री बनाउन खोज्दा पनि उहाँले बिपीलाई प्रधानमन्त्री बनाउनुभयो ।’ बिपी कोइरालालाई काँग्रेसबाट निकाल्ने तयारी हुँदा पनि सुवर्णशम्शेरकै विमतिका कारण सफल हुन नसकेको निधिले सुनाए ।

‘बिपीलाई काँग्रेसबाट निकाल्न खोज्दा उहाँले मान्नुभएन । मेलमिलापको नीति लिएर बिपी नेपाल फर्किदा फाँसीको सजाय हुने भनिएको थियो । काँग्रेसका कतिपय नेताले बिपीलाई फाँसी दिने हाम्रो पार्टीको नीति होइन भनिएको थियो । तर सुवर्णशम्शेरजीले त्यसको विरोध गर्नुभयो । बिपीलाई काँग्रेसबाट निकाल्ने कुरा हुन सकेन’ निधिले भने ।

काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीमा  गुटको गुटका आधारमा राजनीति भइरहेको बताए । उनले भने, ‘२०१२ सालमा सुर्वणशम्शेर र गणेशमान सिंह सभापतिमा लड्दा बिपी कोइरालाले सुवर्णशम्शेरलाई साथ दिनुभयो । रोचक कुरा गिरिजाबाबुले भने गणेशमान सिंहलाई साथ दिनुभयो । सभापतिमा सुवर्णशम्शेरले जित्नुभयो । तर उहाँहरुको हार्दिकता पहिलेभन्दा बढी थियो । यतिबेला गुट-गुटका आधारमा राजनीति भइरहेको छ ।’

नेता कोइरालाले विचारको राजनीतिबाट गुट बन्नुपर्नेमा यतिबेला पार्टीमा गुटका आधारमा गिरोह निर्माण भइरहेको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले सुवर्णशम्शेरको बिर्ता उन्मुलन कदम क्रान्तिकारी भएको उनले बताए ।

‘२०४६ सालको आन्दोलनबाट राजनीतिका आएका हामीहरुले गणेशमानजीलाई देख्न पायौँ । गिरिजाप्रसाद, कृष्णप्रासद भट्टराई र सुशील कोइरालासँग काम गर्ने मौका पायौँ । तर बिपी कोइराला र सुवर्णशम्मेरजीलाई सुनेका मात्र छौँ । उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । बिर्ता उन्मुलन कदम क्रान्तिकारी थियो’ थापाले भने ।

महिला सभागिता

उपसभापति निधिले समावेशिताको सिद्धान्त सबैभन्दा पहिले काँग्रेसले अंगीकार गरेको दाबी गरे ।  उनले भने, ‘नेपाली काँग्रेस प्रजातान्त्रिकमा कर्णाली, दलित, जनजाति, महिला, मधेसीको सहभागिताको सिद्धान्त अंगिकार गरिएको थियो । एकीकरणपछि त्यो सिद्धान्त काँग्रेसमा पनि लागू भयो । त्यसपछि संविधानमा व्यवस्था गरिएको हो ।’ 

यस्तै नेता कोइरालाले पार्टीमा महिला सहभागिता बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय तहमा ६० प्रतिशत र प्रादेशीकमा ५० प्रतिशत र केन्द्रमा ४० प्रतिशत महलिा र युवालाई स्थान दियौँ भन्ने पार्टीमा आक्राषर्ण बढ्छ । पाकाको अनुभव र युवाको उर्जाले काँग्रेसलाई अगाडि बढाएर लैजान्छ ।’ 

नेतृत्व विकास र सहभागिताका लागि महिलाहरुले ७७ जिल्लाकै सभापतिलाई खबदारी गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । ‘केन्द्रीय तहमा रहेका महिलालाई प्रश्न छ । तपाई मात्र आरक्षणबाट केन्द्रीय सदस्य भइरहने ? आठ प्रतिशतलाई ५० प्रतिशत बनाउने हो । नेतृत्व दिने कुरा होइन, लिने कुरा हो । आउनुहोस् सभापति लड्नुहोस् । सहभागिता र नेतृत्व विकासका लागि ७७ वटै जिल्ला सभापतिलाई खबदारी गुर्नहोस्’ उनले भने । 

केन्द्रमा रहेका महिलाले पदाधिकारीको आकांक्षा राखेपनि तलका महिलालाई केन्द्रीय सदस्यमा ल्याउन कुनै पहलकदमी नगरेको उनको भनाइ छ । उनले नेपाली काँग्रेसको सभापति महिला भएको हेर्न चाहेको बताए । महिला नेतृत्व भएको देशमा भ्रष्टचार पनि कम भएको उनले सुनाए ।

यस्तै नेता थापाले सबै विभेदको अन्त्य हुँदैन भने समानता नहुने बताए ।  ‘नेपालभित्रको बिविधतापार्टीभित्र पनि देखिनुपर्छ । हिजो दलितलाई महामन्त्री र महिलालाई मन्त्री बनाएको कुराले काँग्रेससँग जनता जोड्न सकिँदैन । काँग्रेस महिलाको मुद्दा बोकेर जाने कुरामा जबरजस्त आउछ कि आउँदैन भन्ने कुराले महत्व राख्छ’ थापाले भने । 

नारामा महिला समानता भएपनि कानुनी व्यवस्थाको मात्र पालना भएको उनको भनाइ छ  । १४ औं महाधिवेशन विधानको व्यवस्थालाई प्रयोग गर्दै महिला सहभागिता बढाउनुपर्नेमा थापाले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप