बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो कार्यकाल काँग्रेसको नेतृत्व सम्हाल्न पाउलान् देउवाले ?

संस्थापन पक्ष र इतर पक्षमा यस्तो छ समीकरण
बिहीबार, २२ असोज २०७७, ११ : २६
बिहीबार, २२ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको अनिश्चितताका बीच आन्तरिक रस्साकस्सी भने जारी छ । महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजीका बीच शीर्ष नेताहरु कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागेका छन् ।

सोही क्रममा सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतरपक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्ने रणनीतिमा देखिन्छ ।

त्यसका साथै केही प्रभावशाली नेताहरुबाट गुट अदल–बदलसमेत भएको पाइन्छ । साविकको गुट वा समूहमा विभिन्न कारणले असन्तुष्ट भएका केही नेताले अर्को प्रतिश्पर्धी गुटमा आफूलाई सामेल गराएका हुन् ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले मुख्य सारथी नै गुमाउनु परेको छ । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउने मुख्य सारथीदेखि लिएर सभापतिमा प्रस्तावक र समर्थक नै अहिले उनको साथमा छैनन् ।

देउवाका बलियो खम्बा मानिने उपसभापति विमलेन्द्र निधि पनि देउवा क्याम्प छोड्ने मनस्थितिमा करिब करिब पुगेको पाइन्छ । निधि १४ औं महाधिवेशनमा आफै सभापतिको दौडमा उत्रिन खोजेपछि देउवासँगको लामो सहयात्रामा बे्रक लाग्ने संकेत देखिन्छ ।

१३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी प्रभावशाली नेता खुमबहादुर खड्का, पुराना नेता कुलबहादुर गुरुङ देउवाको साथमा थिए । दुई वर्षअघि खड्काको निधन भएको थियो । यता, केसी र गुरुङलाई देउवाले आफ्नो पक्षमा राखिरहन सकेनन् । खड्का र गुरुङ १३ औं महाधिवेशनमा सभापति पदका लागि देउवाको प्रस्तावक र समर्थक नै थिए । केसी भने हाल देउवाविरोधी समूहमा पुगेका छन् । संस्थापन इतरका नेताहरुलाई मिलाएर देउवाविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन केसीले कसरत गरिरहेका छन् ।

१३ औं महाधिवेशनमा देउवालाई साथ दिएका नेताहरु गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, सुनिल भण्डारी, लोकेश ढकालले पनि १४ औं महाधिवेशनमा देउवालाई साथ दिने अवस्था नरहेको स्रोत बताउँछ । गत साउनमा काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा काँग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको थियो । देउवा र रामचन्द्र पौडेलको राजनीतिक स्वार्थमा जोशी र ओझामाथि अनुशासनको डन्डा बर्साइएको थियो । कारवाही पूर्वाग्रही रहेको भन्दै जोशीले असन्तुष्टि जनाइसकेका छन् । उनी पौडेलसँगै देउवासँग पनि क्रुद्ध छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि देउवाको साथ छोडेका छन् । यतिबेला देउवा इतर समूहमा पुगेका भण्डारी अहिले देउवालाई फेरि नेतृत्वमा पुग्नबाट रोक्ने अभियानमा छन् ।

देउवाका बलियो खम्बा मानिने उपसभापति विमलेन्द्र निधि पनि देउवा क्याम्प छोड्ने मनस्थितिमा करिब करिब पुगेको पाइन्छ । निधि १४ औं महाधिवेशनमा आफै सभापतिको दौडमा उत्रिन खोजेपछि देउवासँगको लामो सहयात्रामा ब्रेक लाग्ने संकेत देखिन्छ ।

निधिले देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफुलाई सभापतिमा सहयोग गर्न प्ररस्ताव गरेका थिए । देउवाले इन्कार गरे पनि अन्तिमसम्म आफूले देउवाको समर्थनका लागि प्रयास गरिरहने निधिको भनाइ छ । निधिले देउवासँग कित्ताकाट गरेको अवस्थामा देउवाले अन्य केही नेताको पनि साथ गुमाउन सक्ने देखिन्छ ।

यद्यपि संस्थापन इतरमा सभापतिका लागि देखिएको होडबाजी र नवप्रवेशीको छाया हेरेर देउवा पक्ष भने निधिको हलचलबाट त्यति चिन्तित भएको पाइँदैन ।

केन्द्रीय सदस्य जंगीलाल राय र कर्णबहादुर बुढा तथा आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेक प्रताप साह, दयाराम पाण्डे, जनकराज कलौनी र भूमिबहादुर गुरुङ देउवा पक्षका नयाँ हस्ती हुन् ।

कलौनी तत्कालीन माओवादी केन्द्र छोडेर काँग्रेस प्रवेश गरेका थिए भने जंगीलाल राय तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल परित्याग गरी काँग्रेसमा आएका थिए । पूर्वमन्त्री समेत रहेका तत्कालीन एमाले नेता राठौर गएको आम निर्वाचनमा काँग्रेस प्रवेश गरेका थिए ।

सिंह पनि आम निर्वाचनको मुखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम छोडेर काँग्रेस प्रवेश गरेका थिए भने पूर्व राज्यमन्त्री श्रेष्ठ आम निर्वाचनकै मुखमा तत्कालीन माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा जोडिएका थिए । पाण्डे आफू नेतृत्वको अखण्ड नेपाल पार्टी समाहित गर्दै काँग्रेसमा प्रवेश गरेका थिए भने गुरुङ तत्कालीन नयाँ शक्ति नेपालबाट काँग्रेसमा प्रवेश गरेका थिए । बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त परित्याग गरी राप्रपाको डोल्पा जिल्ला कार्यसमितिसहित काँग्रेसमा जोडिएका थिए । 

देउवाले गत फागुन १७ गते केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका थिए । घिमिरे पौडेल समूह छोडेर देउवा समूहमा पुगेका थिए भने शिवाकोटीलाई कृष्णप्रसाद सिटौलाले सिफारिस गरेका थिए ।

देउवाले केही नेता गुमाए पनि संस्थापन इतर पक्षबाट आठ जना केन्द्रीय सदस्य आफ्नो क्याम्पमा तानेका छन् । देउवाले पौडेलसमूहबाट हालसम्म केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, बालकृष्ण पाण्डेय, कृष्णकिशोर घिमिरेलाई आफ्नो समूहमा लगिसकेका छन् ।

यस्तै देउवाले १३ औं महाधिवेशनपछि तत्कालीन फोरम लोकतान्त्रिक पार्टीलाई काँग्रेसमा भित्र्याएर बलियो शक्ति आर्जन गरेको देखिन्छ । देउवाले तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारलाई उपसभापति १२ जनालाई केन्द्रीय कार्यसमितिमा समेटिसकेका छन् ।

सोही अनुसार रामजनम चौधरी, मोहम्मद नसिर सिद्दिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, हरिप्रसाद न्यौपाने, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रीय कार्यसमितिमा छन् । यस्तै निर्वाचनताका तत्कालीन माओवादी परित्याग गरी काँग्रेस प्रवेश गरेका नन्दनकुमार दत्त, अखण्ड पार्टी काँग्रेसमा विलय गराएका कुमार खड्का, नरेन्द्रकुमार चौधरी र हसन अन्सारी पनि देउवाको नवआर्जित शक्ति हो ।

देउवाले साउन १३ गते राप्रपाका नेता सुनिल थापाको समूहलाई पनि काँग्रेसमा ल्याइसकेको अवस्था छ । थापालाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित सदस्य दिने देउवाको तयारी छ । आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकमा देउवाले उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने बुझिएको छ । थापालाई भने देउवाले पार्टी प्रवेश कार्यक्रममै सहमहामन्त्री दिने घोषणा गरेका थिए ।

देउवाले केही नेता गुमाए पनि संस्थापन इतर पक्षबाट आठ जना केन्द्रीय सदस्य आफ्नो क्याम्पमा तानेका छन् । देउवाले पौडेलसमूहबाट हालसम्म केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, बालकृष्ण पाण्डेय, कृष्णकिशोर घिमिरेलाई आफ्नो समूहमा लगिसकेका छन् ।

यस्तै पार्टीका ४७ वटा केन्द्रीय विभागमध्ये २० वटा गठन गरी नौ सय नेता कार्यकतालाई विभागीय जिम्मेवारी सुम्पिँदा संस्थापन इतर समूहका जिल्ला तहका सय–डेढ सय नेतासमेत देउवाले आफूसँग जोडेको पाइन्छ । ५ सय बढी पुराना नेतालाई ज्येष्ठ राजनीतिज्ञसभामा मनोनयन गर्दै देउवाले जिल्ला तहको माहोल सुधार्ने प्रयत्न गरेको पाइन्छ ।

देउवा निकट एक नेताले भने, ‘१३ औं महाधिशनजस्तो सहज १४ औं महाधिवेशन हुँदैन भन्ने हामीले बुझेका छौँ । तर केही नेताहरु बाहिरिँदैमा संस्थापन पक्षका शक्तिको धेरै ठूलो क्षय भएको छैन । सभापतिज्यूसँग टाढिनेभन्दा जोडिने बढी छन् । नवआर्जित शक्तिले हामीलाई राहत पुग्छ ।’ ती नेताले महाधिवेशनको मुखमा संस्थापन इतरबाट कुनै न कुनै प्रभावशाली नेता जोडिने विश्वास व्यक्त गरे ।

यता नेता सिटौला पनि १४ औं महाधिवेशनको अन्तिम निष्कर्ष कुनै नेताले अहिले नै अनुमान गर्न नसक्ने बताउँछन् । उनले भने, ‘सभापति शेरबहादुरजीको, रामचन्द्रजीको, मेरो वा अन्य साथीहरु हकमा अधिवेशन सुरु भएपछि पाइला पाइलामा नयाँ निर्णय आउन थाल्छन् । विगतका अधिवेशनको मलाई राम्रो ज्ञान छ । आठौं महाधिवेशनमा किसुनजीलाई सर्वसम्मत रुपमा नेतृत्वमा चयन ग-यौं । नवौं महाधिवेशनपछि हरेक महाधिवेशन मैले नजिकबाट हेरेको छु ।’

केही महाधिवेशनमा आफैले भित्री भूमिका खेलेको भन्दै उनले हरेक पाइलामा आन्तरिक समीकरण परिवर्तन भएको अनुभव सुनाए । ‘अहिले शेरबहादुरजी र रामचन्द्रजीको टिममा रहेको साथीहरु त्यही रहन्छन् भन्ने कुनै टुंगो छैन । उहाँहरु नै उठ्नुहुन्छ भन्ने पनि टुंगो छैन । उठ्न खाजेको अन्य साथीहरु पनि उठ्नु हुन्छ भन्ने टुंगो छैन,’ सिटौलाले भने ।

महाधिवेशनमा कसरी प्रतिस्पर्धा गर्ने भनेर भित्री रुपमा विभिन्न नेताको विभिन्न तरिकाको भेटघाट भइरहेको उनको दाबी छ ।

‘साथीहरुले प्रेसमा जे भने पनि महाधिवेशनमा कसरी प्रतिस्पर्धा गर्ने भनेर भित्री रुपमा विभिन्न नेताको विभिन्न तरिकाको भेटघाट भइरहेको छ । पार्टीको महाधिवेशनका लागि आन्तरिक प्रतिस्पर्धा सोचेजस्तो सहज छैन,’ सिटौलाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप