शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय
आमा र यमदूतहरु— ११

तुच्छ दानका लागि हात–पाउ टेकेर धूलो चाट्न अभिशप्त सिङ्गो नरलोकका सबैभन्दा दुःखी मानिस हिन्दू कर्मकाण्डी पुरोहित

के हिन्दू मृत्यु–संस्कारमा निहित रहस्य, भय र मनोवैज्ञानिक आतङ्कमा आधारित आर्थिक ठगी र मानसिक दासता शाश्वत र अनुल्लङ्घनीय हो ?
बुधबार, १२ कार्तिक २०७७, ०८ : ०८
बुधबार, १२ कार्तिक २०७७

चौबीस

अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ त्यसलाई अतिक्रमण भनिन्छ ।” बाजेको यो वचन मेरा कानमा गुनगुनाइरहँदा मलाई पिताजीको शय्या दानमा हामीले गरेको अतिक्रमणको सम्झना भयो । पिताजीहरू दश भाइ हुनुहुन्थ्यो र ती दश भाइकी एकमात्र चेली थिइन्— हाम्री एकमात्र फुपू । फुपूकी छोरी साह्रै गरिब थिइन् । हाम्रो घरमाथिको बाँदर खेल्ने पहराको फेदीमा दुम्सी लुक्ने दुलो थियो । त्यही दुलानेर एकलासमा थियो उनको रामझुपडी । के पुरोहितलाई दिइने शय्यादान हाम्री दिदीका खसमलाई दिए हुन्छ ? कसको मथिङ्गलमा हो मलाई थाहा छैन, एउटा उपकारी विचारले जन्म लियो । हुन्छ— हाम्रो परिवारको सर्वसम्मतिले भन्यो । काकाले हाम्रो विचारको समर्थन गर्नुभयो । तर काइँला बडीवाले क्रोधले गर्जिँदै भन्नुभयो, “बरु काले दमाइलाई देओ !” तैपनि बडीवाको क्रोधको पर्वाह नगरी दिदीकै घरमा दान भित्र्याउने कुरामा हाम्रो जिद्दी कायम रह्यो ।

के पुरोहितलाई दिइने शय्यादान हाम्री दिदीका खसमलाई दिए हुन्छ ? कसको मथिङ्गलमा हो मलाई थाहा छैन, एउटा उपकारी विचारले जन्म लियो । हुन्छ— हाम्रो परिवारको सर्वसम्मतिले भन्यो । काकाले हाम्रो विचारको समर्थन गर्नुभयो । तर काइँला बडीवाले क्रोधले गर्जिँदै भन्नुभयो, “बरु काले दमाइलाई देओ !”

जब पुरोहित बाजेले कुराको सुइको पाए, बरा उनका ओठ–तालु सुके । विहान सबेरै आउँछन्, नून खाएको कुकुरोझैँ अँगेनाका डिलमा मुन्टो लतारेर बस्छन्, खुइय सुस्केरा हाल्छन् । ‘मलाई नै देओ’ भनेर हत्ते हालूँ, कुन मुखले भन्ने ? नभनूँ, बाजेको आतेपातेको खेती सर्वनाश हुने भयो । घाँटी सुकाउँदै गरुड पुराण भट्ट्याउने एउटा, बसीबसी शैय्यादान पड्काउने अर्को । बाजेको अन्तरमा क्रोधको आगो दन्दनी बलेको हुँदो हो । तर आगोको ज्वाला प्रकट गर्न मिलेन । बाजेको त्यो याचक रूप र हत्तेहालाई देख्दा मलाई त डर पनि लाग्यो— कतै यी दुःखी मानव घाँटीमा सुर्काने कसेर परमधान हुने त होइन ?

बाजेले ज्यान छाडेर आफ्नो कर्मकाण्डी प्राभवको उपयोग गर्न खोजे । गाउँ–ठाउँका बाजे र मुखियाहरू घुक्र्याउन र थर्काउन हाम्रो घरतिर लर्को लागे । तर कसैको पिताम चलेन । आखिर बाजेले रुन्चे स्वरमा आतेपातेको विधि भट्याए, हाम्रा गरिब दिदी–भिनाजुले शय्यादान कुम्ल्याए ।

बाजेको लुब्ध र उदास अनुहार देख्दा मलाई लाग्यो— सिङ्गो नरलोकमा सबैभन्दा दुःखी मानिस हिन्दू कर्मकाण्डी पुरोहित हो, जो तुच्छ दानका लागि हात–पाउ टेकेर धूलो चाट्न अभिशप्त छ । त्यस्तो आत्महीन जीवलाई गुरुदेव भनेर गोडामा ढोगिदिनु, मलाई लाग्छ, ढोग्ने दुखियाको झनै ठूलो आत्महीनता हो । शैय्यादानबाट वञ्चित पुरोहितका लुब्ध वचन अहिले मेरा कानमा गुन्जिरहेछन्, “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ, त्यसलाई अतिक्रमण भनिन्छ ।”

पच्चीस

गरुड सोध्छन्, “हे भगवान् ! नरकबाट आएको जीव आमाका पेटमा उत्पन्न भई कसरी भर्गादि कष्ट भोग्छ ?” कथावाचनको कुहिगन्धमा अव फेरि सुरु हुन्छ नारीको निन्दा प्रकरण । गरुडको जिज्ञासा तृप्त गर्न भगवान् बाजेबाट आज्ञा हुन्छ, “इन्द्रको ब्रह्महत्या गरेको पाप स्त्रीशरीरमा रजस्वला भएका दिनदेखि तीन दिनसम्म रहन्छ । तिनै तीन दिनमा पापीको शिरको उत्पत्ति हुन्छ । रजस्वला भएको पहिलो दिन स्त्री चाण्डाल्नी हुन्छे, दोश्रो दिन ब्रह्मघातिनी हुन्छे र तेस्रो दिन हुन्छे ऊ धोविनीसमान । यिनै स्त्रीहरू नरकबाट आउनेहरूका आमा हुन्छन् ।” यसो भनेर पुरोहित बाजे महिला श्रोताहरूलई पुलुक्क हेर्छन् । महिलाहरू आँखामा ग्लानीयुक्त प्रश्न लिएर एकअर्कालाई पल्याक–पुलुक हेर्दै नूर गिरेका नजर धरतीमा पछार्छन् ।

गरुड सोध्छन्, “हे भगवान् ! नरकबाट आएको जीव आमाका पेटमा उत्पन्न भई कसरी भर्गादि कष्ट भोग्छ ?” कथावाचनको कुहिगन्धमा अव फेरि सुरु हुन्छ नारीको निन्दा प्रकरण ।

कथा भन्छ— चौरासी लाख जुनीको चक्र पार गरेर नरलोकमा फर्किन पाएको जीव आफ्नो भाग्यको लेखान्तर भोग्नका लागि देह प्राप्त गर्न पुरुषको वीर्यमा आश्रित भई स्त्रीको पेटमा प्रवेश गर्छ । पहिलो रातमा कल्ल, दोश्रोमा गोलाकार र तेस्रोमा वयरजस्तो मासुको पिण्ड बन्दछ । एक महिनामा त्यसको शिर बन्छ, दुइ महिनामा हात, तीन महिनामा नङ, रौँ, हाडछाला र लिङ्ग, चार महिनामा सात धातु र पाँचौ महिनामा उसमा भोक–प्यासको उत्पत्ति हुन्छ । छैटौँ महिनामा त्यो आमाको दाहिने कोखमा घुम्न थाल्छ । ऊ आमाले खाएको भोजन खाएर त्यहीँ मल–मूत्र त्याग गर्दै दुर्गन्धी आहालमा सुत्छ । मल–मूत्रमा पैदा भएका किराहरूको टोकाइको पीडाले क्षण–क्षणमा ऊ मूर्च्छा परिरहन्छ । आमाले खाएको तीतो–पीरो, रुखो र अमिलोको रसले स्पर्श गर्दा कष्टले मडारिँदै ऊ बाहिर निस्कने इच्छा गर्छ । तर आन्द्राको जालमा बेरिएको हुनाले उसले अकथनीय कष्ट बेहोर्छ । पिन्जराको सुगाझैँ आमाको गर्भाशयमा कैदी भएर चेष्टाहीन रहन्छ ऊ । सातौँ महिनादेखि उसलाई भगवान‍्को ज्ञान प्राप्त हुन्छ । अनि ऊ विष्टामा उत्पन्न भएका किराको सहोदर भाइजस्तो भएर एक ठाउँमा बस्न नपाई सुत्केरी वायुले घँचेडिँदै उँधो मुल्टो लगाएर बाहिर निस्कन्छ । पृथ्वीमा विष्टा र मूत्रमा पतीत भई ऊ किराझैँ चल्मलाउँछ, ऊ चिरिएर रुन्छ । हो, परोहित बाजेको बयान यस्तो छ ।

कथामा यसपछि बालकले बाल्यकालमा भोग्नुपर्ने कष्टहरूको कुरूप वर्णन सुनिन्छ । अनि कथालेखक बढाउँदै–हुर्काउदै यौवनवस्थामा पुर्‍याएर उसलाई नीचको सङ्गत गर्ने, सज्जनको द्वेष गर्ने र काममा लम्पट बन्ने चरित्रको बनाइदिन्छन् । मदमात्सर्यमा परी भष्ट भएर ऊ बृद्ध हुन्छ र रोगग्रस्त भई आकुल–व्याकुल बन्न पुग्छ । अनि गरुड पुराणका लेखक मूल पुरोहितको नरपीडक बुद्धिले उसलाई हरिविजोकसँग मारेर उही चौरासी लाख जुनीमा यात्रा गर्न उही नरकतिर धकेलिदिन्छ ।

छब्बीस

तिनताका म हिमालय टाइम्स दैनिकमा आजादको नयाँ चौतारीमा बसेर एउटा पुन्टे स्तम्भ लेख्थेँ । आख्यानका तन्तुहरूको जालो बुनेर लेखिने त्यो स्तम्भको अन्तर्यमा राजनीतिक परिहासको पुट हुन्थ्यो । आधा ठट्टा, आधा गम्भीर । आधा हँस्यौली, आधा कटाक्ष । पहिले त्यो स्तम्भ आजाद चौतारीको नाममा श्री सगरमाथा दैनिकमा थियो । एमाले नेतृत्वको आचरणसम्बन्धी एउटा कटाक्षलाई श्री सगरमाथाले पचाउन नसकेर म आजाद चौतारीबाट बहिष्कृत भएँ । त्यो पनि तीर्थ कोइरालाको सत्ताच्युतिपछि मित्र हिरण्यलाल श्रेष्ठ सम्पादक भएर आउनुभएको पहिलो दिनमै । हिमालय टायम्समा मित्र गोविन्द्र अधिकारी हुनुहुन्थ्यो, श्री सगरमाथाले सडकमा मिल्काइदिएका आजादलाई उहाँले नै टिपेर हिमाल टाइम्सको नयाँ आजाद चौतारीमा विजमान गराइदिनुभयो । धार्मिक ठगीमा आधारित हिन्दू मृत्युसंस्कार र गरुड पुराणप्रतिको मेरो अस्वीकृतिबारे गोविन्दजीका नाउँमा एउटा पत्र लेखेर पढ्दै थिएँ, आठ बजेतिर काँकडभिट्टावासी कथाकार पुण्य खरेल टुप्लुक्क आइपुग्नुभयो । काठमाडौंबाट फर्किने क्रममा मित्रमिलन गर्ने मनसुवाले उहाँ छिर्नुभएको रहेछ । हिँडाइको तोडले हो कि झोँकग्रस्त आवेगको चापले हो मलाई थाहा भएन, उहाँको श्वास–प्रश्वासको गतिमा असामान्य तीव्रता थियो । वायुगेगमा भेटको औपचारिकता निर्वाह गरेपछि उहाँले रुष्ट मुद्रामा भन्नुभयो, “तपाईले त यसो गर्नुभयो तर म सक्दिनँ । मैले यसो गर्न मिल्दैन ।”

म काठमाडौंमा बस्छु, त्यसैले विर्तामोडमा आमाको काजक्रिया बहिष्कार गरेर लुसुक्क काठमाडौं जान र काठमाडौंको हूलमा हराउन मलाई सजिलो छ । बाहिष्कारले पैदा गर्ने उग्र समाजिक–सांस्कृतिक विवाद र विरोधको मैले सामना गर्नै पर्देन । हिरो पनि भइने, छाला पनि नतरिने । त्यसैले मैले जे गरेँ, उहाँको दृष्टिमा त्यो सजिलो र सुरक्षित कर्म थियो । तर उहाँले त्यही कर्म गर्दा असजिलो र असुरक्षित हुन्थ्यो । उहाँको रुष्ट आसयको गूढ तत्व मैले के बुझेँ भने मैले हिरो हुन खोजेर उहाँलाई अप्ठ्यारो पारिदिएको थिएँ

खरेलजीको स्वरको उच्चता र अभिव्यक्तिको भाकामा उग्र आपत्ति ध्वनित भएको मैले छनक पाएँ । उहाँका रैथाने तर्क आफनै पाराका थिए । म काठमाडौंमा बस्छु, त्यसैले विर्तामोडमा आमाको काजक्रिया बहिष्कार गरेर लुसुक्क काठमाडौं जान र काठमाडौंको हूलमा हराउन मलाई सजिलो छ । बाहिष्कारले पैदा गर्ने उग्र समाजिक–सांस्कृतिक विवाद र विरोधको मैले सामना गर्नै पर्देन । हिरो पनि भइने, छाला पनि नतरिने । त्यसैले मैले जे गरेँ, उहाँको दृष्टिमा त्यो सजिलो र सुरक्षित कर्म थियो । तर उहाँले त्यही कर्म गर्दा असजिलो र असुरक्षित हुन्थ्यो । उहाँको रुष्ट आसयको गूढ तत्व मैले के बुझेँ भने मैले हिरो हुन खोजेर उहाँलाई अप्ठ्यारो पारिदिएको थिएँ । खरेलजी र म एउटै वैचारिक धारका सन्तति । त्यसैले, सत्य हो, मैले जे गरेँ, हाम्रो वैचारिक समाजले उहाँबाट पनि त्यस्तै आचरणको अपेक्षा गर्न सक्थ्यो । तर त्यसो गर्न असमर्थ हुँदा उहाँको नाक काटिन्थ्यो !

हामी विचारको एउटै मोर्चामा रहेर मेरो आचरणको प्रकृति, समाजमा त्यसले सम्प्रेषण गर्ने सन्देश र त्यसप्रतिको सामाजिक प्रतिक्रियाबारे विचार गर्न सक्थ्यौँ । तर उहाँ अनपेक्षित रूपले विचारको विरोधी मोर्चामा उभिएर चर्को रूपमा प्रस्तुत हुनुभयो ।

खरेल महोदयको सोच्ने ढङ्ग र तर्क गर्ने काइदा मलाई बडो अडमिल्दो लाग्यो । उहाँको आफ्नै वैचारिक प्रतिबद्धताको विपरीत पनि । नाकहरू सबैका आ–आफनै प्रकारका हुन्छन् । नाक जोगाउने वा नाक कटाउने तरिका पनि सबैका आ–आफ्नै हुन्छन् । रोगग्रस्त हिन्दू कर्मकाण्डप्रतिको मेरो असहमति वा विरोध कसैको नाक घोक्रर्‍याउने वा कसैको नाक ठुन्क्याउने निशानातर्फ लक्षित थिएन । मैले त आफ्नो कर्मद्वारा सांस्कृतिक आन्दोलनसमक्ष एउटा स्यानो प्रश्न उठाउनमात्र खोजेको थिएँ— के हिन्दू मृत्यु–संस्कारमा निहित रहस्य, भय र मनोवैज्ञानिक आतङ्कमा आधारित आर्थिक ठगी र मानसिक दासता शाश्वत र अनुल्लङ्घनीय हो ? के मृत्यु–संस्कारमा निहित भाग्यवादी एवं धर्मान्ध रुढि सन्देहको औँलो ठड्याउनै नसकिने परम् सत्य हो ? के यस्ता रुढि र ठगीहरूमाथि व्यवहारिक रूपबाट प्रश्न उठाउनु सार्थक बहस आरम्भ गर्ने प्रस्थानविन्दु हुन सक्दैन ?

मैले त आफ्नो कर्मद्वारा सांस्कृतिक आन्दोलनसमक्ष एउटा स्यानो प्रश्न उठाउनमात्र खोजेको थिएँ— के हिन्दू मृत्यु–संस्कारमा निहित रहस्य, भय र मनोवैज्ञानिक आतङ्कमा आधारित आर्थिक ठगी र मानसिक दासता शाश्वत र अनुल्लङ्घनीय हो ? के मृत्यु–संस्कारमा निहित भाग्यवादी एवं धर्मान्ध रुढि सन्देहको औँलो ठड्याउनै नसकिने परम् सत्य हो ? के यस्ता रुढि र ठगीहरूमाथि व्यवहारिक रूपबाट प्रश्न उठाउनु सार्थक बहस आरम्भ गर्ने प्रस्थानविन्दु हुन सक्दैन ?

खरेलजीले भन्नुभयो, “दाइ, समाजले यसलाई पचाउँदैन ।”

मैले तर्क गरेँ— परम्परागत रुढिले गाँजिएको समाजले सहजै पचाउने त पुरोहित बाजेको रुढिगत जुवामात्र हो । पुस्तापछि पुस्ता र युगपछि युग हुँदै मासिनहरू बूढो गोरुसरह अन्ध–परम्पराको जुवामुनि नारिन अभ्यस्त र अभिशप्त छन् । यस नरद्वेषी जुवाको औचित्यप्रति वागी दृष्टिले कोही पनि सन्देह गर्दैन । न प्रश्न गर्छ, न तर्क गर्छ, न त विवाद र बहस नै गर्छ । हजुरवाले यही गरे, बाबुले यही गरे, तसर्थ यही गर्न म पनि कर्तव्यबद्ध छु । जो आफूलाई आमूल परिवर्तनका सचेत संवाहक ठान्छन्, कर्मकाण्डको जुवा उठ्दा ती गोरुकै औतारमा प्रस्तुत हुन्छन् । जो आफूलाई जण्ड–प्रचण्ड क्रान्तिकारी ठान्छन्, तिनीहरू पनि पुरोहितबाजेको गरुड पुराणसामु गरुडको छाया परेको लाचार सर्पझैँ लल्याक–लुलुक हुन्छन् । स्टिच नगरिएको एउटा लघुकाय गरुड पुराण र चन्दन, टुप्पी एवम् जनैधारी पुरोहित बाजेका अगाडि सारा संसार काम्दै थपक्क घुँडा टेक्न विवश हुन्छ । पुस्तापछि पुस्ता, युगपछि युग । र, यसरी स्थापित धार्मिक नजिरको कोर्रा हल्लाउँदै पुरोहित बाजे गर्जन गर्छन्— यो सनातन हो, यो शाश्वत हो, यो भगवान‍्को आज्ञा हो । तसर्थ जसले यसको अवज्ञा गर्छ, त्यो नरकगामी पापी हो । यस्तो अपराधिक धार्मिक रुढिको विरोध राजनीतिक दलहरूका चुनावी घोषणा वा भाषणमा कहिल्यै सुनिँदैन । न महिला, दलित र जनजातीय आन्दोलनहरू नै हम्मेसी यसमाथि साहसिक, सार्थक र दृढ हस्तक्षेप गर्छन् । दिमागमा उकुच पल्टिएको घाउ छ, घाउ निचोर्ने वा काटेर फाल्ने काम कहिल्यै हुँदैन । यो तेह्र दिनको रुढि किन ? यसलाई एकै झमटमा पूरापूर परित्याग गर्न नसकिएला रे लौ । तेह्र दिनको सट्टा तीन दिन किन नहुने ? ठीक छ, जिद्दी गर्ने गौपुत्रमार्गीले तेह्र दिनको सट्टा छब्बीसै दिन मनाओस् । जिद्दी नगर्नेका घाँटीमा विरालो बाँध्ने संस्कारको यो घाँडो झुन्ड्याउनै पर्ने बाध्यता किन ? जीवन–दर्शन रोज्न पाइन्छ, राजनीतिक दल रोज्न पाइन्छ, पेसा र वृत्ति रोज्न पाइन्छ । कर्मकाण्डीय विधिमा चाहिँ रोजाइलाई ठाउँ किन नहुने ? कष्टकर अन्तिम संस्कारको विधिलाई सरल, छोटो र किफायती बनाउन जमर्को किन नगर्ने ? यसलाई यन्त्रणा, रुढि र ठगीबाट मुक्त गर्न जमर्को किन नगर्ने ?

स्टिच नगरिएको एउटा लघुकाय गरुड पुराण र चन्दन, टुप्पी एवम् जनैधारी पुरोहित बाजेका अगाडि सारा संसार काम्दै थपक्क घुँडा टेक्न विवश हुन्छ । पुस्तापछि पुस्ता, युगपछि युग । र, यसरी स्थापित धार्मिक नजिरको कोर्रा हल्लाउँदै पुरोहित बाजे गर्जन गर्छन्— यो सनातन हो, यो शाश्वत हो, यो भगवान‍्को आज्ञा हो । तसर्थ जसले यसको अवज्ञा गर्छ, त्यो नरकगामी पापी हो । यस्तो अपराधिक धार्मिक रुढिको विरोध राजनीतिक दलहरूका चुनावी घोषणा वा भाषणमा कहिल्यै सुनिँदैन ।

के यस्ता रुढिप्रस्त धार्मिक परम्परामाथि औँलो ठड्याउनु गलत हो ?

खरेलजी भन्नुहुन्छ, “कुरा ठीकै हो दाइ, तर समाजले पचाउँदैन । एक्ले ढेडु भइन्छ ।”

इतिहासभरि नै विचार र दृष्टिकोणको क्षेत्रमा स्थापित रुढ विश्वसमाथि पहिले प्रश्न पठाउने एकै जना त थियो । ग्यालिलियो एकै जना थिए, डार्विन एकै जना थिए, मार्क्स एकै जना थिए । स्थापित विश्वासका वैज्ञानिक आधारहरूबारे प्रश्न उठाउने आँट गर्दा तिनीहरू लाञ्छित भए, निन्दित भए र प्रताडित भए । तर कालक्रममा तिनका प्रश्नहरूका ध्वजा उठाउनेहरू एकबाट दुई, दुईबाट चार, चारबाट सय, सयबाट हजार हँुदै नयाँ विचार र दृष्टिकोणका पक्षमा सचेत जनमतको प्रवाह निर्माण हुँदै गएको हो । बैज्ञानिक विचारको भ्रूण पैदा हुने र त्यो विकसित हुँदै विस्तारित हुने प्रक्रिया यस्तो हो भने कमसेकम प्रश्न उठाउने सानो जमर्को गर्नु राम्रो होइन र ?

“हुन त हो, दाइ । तर के गर्नु, समाजले पचाउँदैन ।”

समाजको सांस्कृतिक पाचन–शक्तिको विकास गर्दै जाने प्रारम्भिक प्रेरणा वा उर्जा यस्तै प्रश्नहरूबाट प्राप्त हुन्छ, हैन र ?

“त्यो त हो, दाइ । तर यसरी एक्लै अघि सर्दा अप्ठ्यारो पर्छ ।”

खरेलजीको तर्कको तन्तु घुम्दैफिर्दै रुम्जाटार पुग्ने रोग लागेर साँगुरो वृत्तमा चाकाचुलीझैँ फन्फनी घुमिरह्यो । म थाकेँ । उहाँ त आउँदैमा आफ्नौ आबेगको चापमा परेर थकित हुनुभएकै थियो ।

खरेलजी परे बाम पार्टीका प्रतिबद्ध र कर्मठ लडाका । र, नवीन सांस्कृतिक चेत निर्माण गर्ने सामाजिक यात्राका एक उत्साही ध्वजावाहक पनि । गरुड पुराणपन्थका जङ्गी योद्धा पुरोहित बाजेका सेनामेनाहरूको घेराउमा परेको अत्यासलाग्दो क्षणमा मेरो उत्कट अपेक्षा थियो— मैले उठान गरेको प्रश्नको एक सक्रिय वा निष्क्रिय, मुखर वा मौन समर्थक खरेल महोदय अवश्यै हुनुहुनेछ । दुर्भाग्यवश, कर्मकाण्डीय यथास्थितिको पक्षमा उहाँले अघि सार्नुभएको जिरहसमक्ष म हारथाक भएँ ।

निराशाको फेटा गुथेर खरेलजी काकरभिट्टातिर बेगिनुभयो । निरुत्साहित भएर म विर्तामोडमै घोत्लिइरहेँ ।

मैले जे गरेँ, त्यसलाई गरुड पुराणका सृष्टिकर्ता बाजेको आज्ञासरह मानेर सबैले हर परिस्थितिमा चुपचाप अनुसरण गर्नुपर्छ भन्ने मेरो मताग्रह होइन । त्यो सांस्कृतिक आन्दोलनको आम कार्यनीतिको एउटा सशक्त कडी हुन सक्ला भन्ने जिद्दी पनि मेरो होइन । त्यो अवज्ञाकारी कर्मबाट मैले सम्प्रेषण गर्न खोजेको सन्देश यतिमात्र हो— के लोकको अकल्याण गर्ने परम्परा, रीति र विधिविरुद्ध व्यक्तिबाट विद्रोह गर्न सकिने परिस्थिति र मानसिकताको निर्माण सुविचारित र सचेत रूपबाट गरिनु राम्रो होइन ?

मैले जे गरेँ, त्यसलाई गरुड पुराणका सृष्टिकर्ता बाजेको आज्ञासरह मानेर सबैले हर परिस्थितिमा चुपचाप अनुसरण गर्नुपर्छ भन्ने मेरो मताग्रह होइन । त्यो सांस्कृतिक आन्दोलनको आम कार्यनीतिको एउटा सशक्त कडी हुन सक्ला भन्ने जिद्दी पनि मेरो होइन । त्यो अवज्ञाकारी कर्मबाट मैले सम्प्रेषण गर्न खोजेको सन्देश यतिमात्र हो— के लोकको अकल्याण गर्ने परम्परा, रीति र विधिविरुद्ध व्यक्तिबाट विद्रोह गर्न सकिने परिस्थिति र मानसिकताको निर्माण सुविचारित र सचेत रूपबाट गरिनु राम्रो होइन ? यस्ता विद्रोह जब सार्वजनिक विवाद र बहसको तहमा उठ्छन् तब न सांस्कृतिक आन्दोलनले शनैःशनैः सामूहिक अभियानको स्वरूप धारण गर्नसक्छ ।

मेरा पिताजीको पुस्ताका पर्वतारोही तेन्जिङ नोर्गेले मानवइतिहासमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको थाप्लोमा पाइलो टेक्न सकेथे । पिताजीले आरोहण गर्नुभएको सवभन्दा अग्लो चुली त केवल हाम्रा बारीको टाँकीको फुर्को, हाम्रा घरको धुरी वा हाम्रा घरमाथिको रमिते डाँडाको थाप्लो थियो । तेन्जिङ काकाको जस्तो अदम्य आकाङ्क्षा, नयाँको अतृप्त खोजी र जोखिम उठाउने लोमहर्षक साहसिकता मेरा पिताजीमा थिएन । तैपनि अत्यन्तै गुणग्राही भाव–मुद्रामा मुक्त कण्ठले गाउँदै पिताजी गाउँ घुम्नुहुँदाको त्यो मधुर स्वरलहरी अहिलेसम्म पनि प्रेरणादायी झङ्कार भएर मेरा कानमा गुन्जिरहेछ :

हाम्रो तेन्जिङ शेर्पाले
चढ्यो हिमाल चुचुरा ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप