मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको लगानी भएको कम्पनीले कति दिँदैछ लाभांश, कुन कम्पनीको लाभांश दर कति ?

सोमबार, १७ कात्तिक २०७७, १७ : ०३
सोमबार, १७ कात्तिक २०७७

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ८ वटा वाणिज्य  बैङ्क, चारवटा लघुवित्त कम्पनी, एउटा जलविद्युत, ३ वटा उत्पादनमूलक कम्पनी र १६ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र (पुस मसान्तसम्म) वार्षिक साधारण सभा गर्नुपर्ने प्रावधान छ । जसमा कम्पनीहरूले आफूले कमाएको मुनाफा अनुसार लाभांश प्रदान गर्ने घोषणा गर्छन् ।

सेयर बजारमा वर्चस्व राख्ने वाणिज्य बैङ्कको लाभांशमा अझ बढी लगानीकर्ताको चासो बढी हुने गरेको छ । बढी लाभांश दिने बैङ्कको सेयर मूल्य बढ्न थाल्ने र जसले बजार प्रभावित गराउन सक्छ । विगतका वर्षहरूलाई हेर्ने हो भने कम्पनीहरूले अन्तिम समयमा मात्रै लाभांश घोषणा गर्ने र साधारण सभा गर्ने गरेका छन् । समयमै साधारण सभा नगर्दा लगानीकर्ताहरू हैरानी हुनुपरेको अवस्था पनि छ । तपाईंको सेयर भएको कम्पनीले तपाईंलाई कति दिँदैछ लाभांश देखाउन खोजेका छौँ । 

नेप्सेमा सूचीकृत कुन कुन कम्पनीले कति दिँदैछन् लाभांश ?
२७ वाणिज्य बैङ्कमा ८ वटाको मात्रै लाभांश घोषणा 

लाभांश घोषणा गरेका ८ वटा वाणिज्य बैङ्कमा एनआईसी एसिया बैङ्कले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ । यसले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । अघिल्लो वर्ष बैङ्कले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा एनआईसी एसियाले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ग्लोबल आईएमई र बैङ्क अफ काठमाडौँले पनि १६ प्रतिशत लाभांश दिँदैछ । 


४ लघुवित्तको यस्तो छ लाभांशदर  
सेयर बजारमा लघुवित्त कमपनीहरूको सेयर मूल्य तुलनात्मक रूपमा अन्यभन्दा राम्रो हुन्छ । कम चुक्तापुँजी भएको लघुवित्त कम्पनीकै सेयर मूल्य किन महँगो हुन्छ भन्ने प्रश्न पनि बेलाबेलामा उठ्ने गरेको छ । लाभांश घोषणा गरेका पाँच लघुवित्त कम्पनीमा सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्थाले लाभांश दिँदैछ । समताले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

१ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष समताले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको थियो । हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ । यस्तै आरएसडीसी, फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्तले पनि गतवर्षको नाफाबाट कति लाभांश दिने भन्ने सार्वजनिक गरिसकेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल ८१ वटा लघुवित्त कम्पनी छन् । तर नेप्सेमा भने ५२ वटा लघुवित्त मात्र सूचीकृत छन् । हालसम्म ४ वटाले मात्र लाभांश घोषणा गरेका छन् । 

  

जलविद्युत् कम्पनीमा भने एउटाले मात्र लाभांश घोषणा गरेको छ । अपि पावरले एकैपटक दुई आर्थिक वर्षको लाभांश दिँदैछ । तर आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट भने ९.७ प्रतिशत लाभांश दिनेछ । नेप्सेमा ३५ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । अन्यले लाभांश घोषणा गरेका छैनन् । 


यता उत्पादनमूलक कम्पनीमा ३ वटा कम्पनीले लाभांश दिने घोषण गरिसकेका छन् । शिवम् सिमेन्ट, युनिलिभर कम्पनी, नेपाल ल्युब आयल तिनैवटा कमपनीले नगद लाभांश दिँदैछ । सेयर बजारमा महँगो सेयर मूल्य भएको युनिलिभरल प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १ कित्ता सेयर बराबर १०० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो ।

नेपाल ल्युब आयलले त साधारण सभासमेत गरिसकेको छ । यसले १० प्रतिशत नगद लाभांश दिएको छ । हाल नेप्सेमा १९ वटा उत्पादनमूलक तथा प्रशोधन कम्पनी सूचीकृत छन् । 


अधिकांश सामूहिक लगानी कोषको लाभांश घोषणा
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश सामूहिक लगानी कोषले लाभांश घोषणा गरिसकेका छन् । १६ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका हुन् । नेप्सेमा १९ वटा सूचीकृत म्युचुअल फण्ड छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप