बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डलाई सुवासको सुझाव: ‘कुलिङ पिरियड’ मानेर छलफल गर्नुस्

ढ्याक्कै बैठक बस्दा झगडा झन् चर्किन्छ
मङ्गलबार, ०२ मङ्सिर २०७७, १७ : ५८
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले पार्टीमा विवाद बढेका बेला बैठक बस्दा थप झगडा चर्किने भएकाले केही दिन रोकिएर बैठक राख्न सुझाव दिएको बताएका छन् । शुक्रबारयता पार्टीमा बढेको विवाद साम्य पार्न दोस्रो तहका नेताहरुको बालुवाटार र खुमलटारमो दौडधुप चलिरहेका बेला नेम्वाङले यस्तो सुझाव दिएको बताएका हुन् ।  नेता नेम्वाङले दुवै अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफुले बारम्बार भेटेर एकता भत्कन नदिन पहल गर्न आग्रह र सुझाव दुवै दिँदै आएको बताए । 

उनले भोलिको बैठक सार्ने र नसार्ने भन्ने विषय आफुलाई थाहा नभएको भन्दै सामान्य नियमअनुसार पनि जब पार्टीमा विवाद चर्कन्छ, त्यतिवेलै ढ्याक्कै बस्दा विवाद चर्किने नियमै भएको बताए ।  ‘पार्टीमा दुई पक्षमा धु्रविकरण हुन्छ, झगडा देखिन्छ त्यतिबेला नै ढ्याक्क बस्दा थप झगडा चर्किन्छ’, उनले रातोपाटीसँग भने, ‘त्यतिवेला जसलाई ‘कुलिङ पिरियड’ भन्छन् । अहिले कुलिङ प्रियड मानेर तुरुन्तै बसेर झगडा नगर्नुस् बरु तपाइँहरु बसेर छलफल गर्न भनेर आग्रह गरेको छु’, उनले आफु पार्टी सग्लो रहेको देख्न चाहने सदासयता राख्ने एक कार्यकर्ताको हैसियतले त्यतिमात्रै भन्न सक्ने पनि बताए । 

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावले पार्टीमा थप झगडा चर्कन लागेको भन्दै महासचिव विष्णु पौडेल, नेता नेम्वाङ लगायतले दुवै नेतालाई भेटेर तत्कालै बैठक बस्दा थप समस्या सिर्जना हुने भएकाले केही दिन पर्खेर बैठक राख्न सुझाव दिएका हुन् । यसक्रममा ओलीले पूर्व माओवादी पक्षका केही नेतालाई समेत भेटेका छन् । नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीसँग सोमबार छलफल गरेका ओलीले मंगलबार महासचिव विष्णु पौडेल, पृथ्वी सुव्वा गुरुङ तथा प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरी सुझाव मागेका छन् । त्यसक्रममा नेताहरुले बुधबारका लागि बोलाइएको बैठक केही दिन सार्न सुझाव दिएका हुन् ।

मंगलबार ओलीसँगको छलफलपछि नेता नेम्वाङले दुर्घटना नहोस् भनेर त्यसो गरिएको दावी गरे । ‘बैठक बस्दा उहाँहरुले के गर्नुहुन्छ भन्ने पनि देखियो । थपक्क चार्जसिट नै जस्तो ल्याउनुहुन्छ । त्यो चार्जसिट पनि पार्टीको सचिवालयभित्रको कुरा एक मिनेटमा मेची महाकालीमा प्रचार भइसक्छ । यो कुराबारे अहिलेसम्म मैले पार्टीमा नबुझेको कुरा हो । चाहे जोसुकैले गरुन् त्यसले राम्रो गर्दैन’, नेम्वाङको भनाई छ । 

नेम्वाङले आफुजस्तै धेरै नेता कार्यकर्ताको समेत सोही सदासयता भएकाले भोलिको बैठकका बारेमा दुवै अध्यक्षले सोेच्नेमा आफु विश्वस्त रहेको पनि बताए ।  ‘हाम्रा दुई अध्यक्षहरु, दुई नेताहरु धेरै बुद्धिमान हुनुहुन्छ । सवै कुरा देख्नुभएको छ । यताउती भएछ भने भोली कार्यकर्ता र जनतालाई उहाँहरुले नै सबैभन्दा बढि जवाफ दिनुपर्छ । त्यस्तो स्थिति नल्याउनुहोला भन्नेमा विश्वस्त छु । त्यसैले बुधबारको बैठक सहमतिमै केही दिन सर्नसक्छ भन्नेमा म आशावादी छु’, नेम्वाङले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप