शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना कोषको खर्च विवरण सार्वजनिक गर्ने सीसीएमसीको निर्णय

शुक्रबार, २६ मङ्सिर २०७७, १५ : ३२
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकटव्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड नियन्त्रण सम्वन्धि कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतिबारेमा जानकारी लिएका छन् । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरेका हुन् ।

‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो’–उपप्रधानमन्त्री पोखरेलले भने– ‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्यौं ।’ संयोजक पोखरेलले कोरोना खोपसँग सम्विन्धत विषयमा गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गरेका हुन् ।

बैठकमा सीमाविन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ ।

बैठकमा गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सामान्य प्रशासन हृदयश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्राईको सहभागिता थियो । साथै मुख्य सचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालय लगायतका सचिवहरुको सहभागिता रहेको उपप्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप