शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणले लगानीको वातावरण बन्न सकेनः वरिष्ठ उपाध्यक्ष ढकाल

आइतबार, १२ पुस २०७७, १७ : ०१
आइतबार, १२ पुस २०७७

काठमाडौं । निजी क्षेत्रलाई हेर्ने परम्परावादी सोच र दृष्टिकोणका कारण लगानीको वातावरण बन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आजको आर्थिक सम्वृद्धि र उत्साहको युगमा पनि राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन आउन नसक्दा लगानीको वातावरण बन्न नसकेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले अब यस्तो सोचमा परिवर्तन आउनुपर्ने बताए । 

आइतबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौं प्रदेशसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानी मैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्बृद्ध नेपाल निर्माण गर्नका लागि राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भएपनि निजी क्षेत्रको लगानी आउन नसक्ने बताउँदै उनले परम्परागत नियम, कानुन र दृष्टिकोण विस्तारै परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

मलेशियाको विकासको नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तारमा सोचेअनुरुप उत्साह आउन नसक्ने उनको भनाई छ । पोखरामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले उत्तरदेखि दक्षिणसम्म फैलिएको गण्डकी प्रदेश व्यवसायिक तथा लगानीका लागि धेरै सम्भावना रहेको क्षेत्र रहेको बताउँदै उनले राज्यले यसलाई मनन गरी लगानी मैत्री वातावरण निर्माण गरिदिनुपर्ने बताए ।

‘दुई छिमेकी मुलुकहरु चीन र भारतसँग सिमाना फैलिएको गण्डकी प्रदेश, सम्भावनै सम्भावनाले भरिएको प्रदेश हो । यस प्रदेशमा ऊर्जा, पर्यटन, कृषि तथा अन्य धेरै उद्योग व्यवसायहरुको धेरै सम्भावना छ । यी सम्भावनालाई वास्तविकतामा बदल्न आवश्यक वातावरण बनाउने काम राज्यको हो’ ढकालले भने ।

यसै अवसरमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन सबै प्रभावित व्यवसायीहरुलाई समेट्ने गरी राज्यले विशेष राहत प्याकेजका कार्यक्रमहरु ल्याउन जरुरी रहेको समेत बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप