सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा कोरोनाका मृतक र संक्रमित दुवैमा नयाँ रेकर्ड

शुक्रबार, २४ पुस २०७७, २३ : २७
शुक्रबार, २४ पुस २०७७

लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमणको दरमा नयाँ रेकर्ड कायम भएको छ । विगत आठ दिनदेखि पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याङकअनुसार २४ घन्टाभित्र ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलानामा १६ हजार भन्दा बढी हो भने  बेलायतमा कोरोनाको महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि महामारीपछिकै उच्च पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ८३३ पुगेको छ । बेलायतका अस्पतालमा ३१ हजारभन्दा बढीको उपचार भइरहेका छन् जसमध्ये झन्डै तीन हजार जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा कोरोनाको महामारी बढेसंगै कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगको  लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता  पाएसँगै  बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् । मोडर्नाको खोप पनि फाइजर( बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो ।

बेलायतले मोर्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् । यसअघि फाइजर–बायोनटेक र अक्सफोर्ड(एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ । कोरोना  संक्रमण दर बढेसँगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो  दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप