मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन नचाहनेहरुले आयोगलाई धम्की दिइरहेका छन्: उपप्रधानमन्त्री पोखरेल

सोमबार, १९ माघ २०७७, १३ : २९
सोमबार, १९ माघ २०७७

नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेको बताएका छन् । सदरमुकाम विदुरमा नेकपा ओली समूहको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले भने– ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन ।  दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ।’  उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताए ।  कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै  नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए । पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा  आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए ।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए । उनले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप