शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने

शनिबार, २४ माघ २०७७, ०८ : १३
शनिबार, २४ माघ २०७७

कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।  

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए। सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको उनको भनाइ छ। यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ। तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र देखि तीन महिनापछि सार्नुपरेको उनको भनाइ छ। कोभिडका कारण विश्वविद्यालयका कक्षाहरू १० महिनादेखि बन्द रहे भने परीक्षाहरू अझै सम्पन्न भएको छैन। 

‘२०७६ चैत–वैशाखमा हुनुपर्ने परीक्षाहरू बल्ल सुरु भएका छन्। स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन भइरहेका छन्,’ शिक्षाध्यक्ष भुसालले नागरिकसँग भने, ‘अब त्रिविका संस्थान र संकायहरूले फागुनलाई नै आधार मानेर नयाँ भर्ना खुलाइरहेका छन्। स्नातकको कक्षा फागुन २५ गतेदेखि सुरु हुन्छ।’ स्नातकोत्तर तहको कक्षा वैशाखमा सुरु हुने भएकाले भर्नादेखि प्रवेश परीक्षाको काम चैतभित्रै सक्नुपर्ने उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप