सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले आफ्नो कदम सही ठहर्‍याउन राज्यकोष रित्याउन थाले : जनमोर्चा

सोमबार, ०३ फागुन २०७७, १५ : ५०
सोमबार, ०३ फागुन २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कदमलाई सही ठहर्‍याउन राष्ट्रिय कोष रित्याउन थालेको आरोप लगाएको छ । सोमबार सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रतिगमनको खतराको विरोधमा राजावादीबाहेक देशका सबै राजनीतिक दल, संगठन, संघसंस्था, पत्रकार, नागरिक समाज आदिले संघर्ष गरिरहेको जिकिर गरेका छन् ।

‘तर ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्ति गर्दै गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन । झन् उनले आफ्नो कदमलाई सही  ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् ।’

सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रधानमन्त्री ओलीले प्रयत्न गरिरहेको राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ । ‘केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफै गएर आयोगलाई दबाब दिएका छन् । त्यसकारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अतः फागुन महिनाभर पनि जिल्ला र स्थानीय तहमा विरोधसभा, कोण सभा, जुलुस, गोष्ठि, अन्तरक्रिया, जनभेटघाट इत्यादि प्रकारका विरोध कार्यक्रम गर्ने निर्णय भएको छ ।’

आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्न राजावादी बाहेक नेपाली काँग्रेस, नेकपा (प्रचण्ड–माधव पक्ष), जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्नुपर्ने सो पार्टीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप