सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तोडफोड गर्नेलाई कार्वाही नगरे प्रतिकारमा उत्रिने रावलको चेतावनी

बुधबार, २६ फागुन २०७७, १८ : १३
बुधबार, २६ फागुन २०७७

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । उनले घटनामा संलग्नहरूलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घटनामा संलग्नहरूलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ । 

बुधबार राजधानीमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको बारेमा गृह प्रशासन र पार्टी नेतृत्व पङ्क्तिलाई पनि जानकारी गराइसकेको बताए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति समेत जनाए । उनले भने, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घटनाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

उनले भने,‘तर, आज त्यहाँ गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नोस् भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साइनबोर्ड राख्न निर्देशन दिएको थिए । सोहीअनुसार राखिएको थियो ।  तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरियो । म निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने कतै षड्यन्त्र गरिएको होइन । यो अत्यन्तै षड्यन्त्र मूलक, गुण्डागर्दी शैली हो । म भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने सरकार संरक्षित गुण्डागर्दी हो भनेर बुझ्नुपर्छ । म सशक्त आवाज उठाउन एमाले पङ्क्तिलाई आग्रह गर्छु ।’ उनले यसरी नै गुण्डागर्दी, अराजकता र मनपरितन्त्र गर्ने हो भने आफूहरुले पनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।

रावलले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग/अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए । उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने षड्यन्त्र भैरहेको छ । विगतमा जे÷जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’

रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए । उनले भने,‘त्यो बैठकबाट निर्देशन आउला । विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ । तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरूलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाइएको थियो । पाँचवटा कुर्सी भाँचेका छन् । म संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ  ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप