बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालका दुईजना चिकित्सक बर्खास्त

ड्युटीको समयमै निजी अस्पताल तथा क्लिनिकहरूमा व्यस्त रहन्थे
आइतबार, ०१ चैत २०७७, १० : ०१
आइतबार, ०१ चैत २०७७

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुई जना चिकित्सक बर्खास्त गरिएका छन् । अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको शुक्रबारको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए ।

करिब ६ वर्षदेखि हेटौंडा अस्पतालमा कार्यरत डा. अन्सारीविरुद्ध बारम्बार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले बर्खास्त गरेको डा. श्रेष्ठले बताए ।

डा. अन्सारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । अस्पतालमा बिरामीको जाँच गर्न छोडेर डा. अन्सारी ड्युटीको समयमै निजी अस्पताल तथा क्लिनिकहरूमा व्यस्त रहने गरेको हेटौंडा अस्पताल विकास समितिको निष्कर्ष छ ।

त्यस्तै, अस्पताल विकास समितिले छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकबाटै औषधि खरिद गर्न बाध्य बनाउने गरेको भन्दै सेवाबाट हटाएको छ । डा. पाण्डेले अस्पतालका बिरामीहरुलाई औषधि खरिदका लागि निजी क्लिनिक तोकेर पठाउने गरेको र अस्पतालमा जानकारी नगराई आफुखुशी बिदा बस्ने गरेको कारण सेवाबाट हटाएको अस्पतालले जनाएको छ ।

शुक्रबार नै एक सेवाग्राहीले अडियो रेकर्डसहित अस्पताल प्रशासनमा गुनासो गरेपछि उनीहरुलाई अस्पतालले सेवाबाट हटाएको डा. श्रेष्ठ बताउँछन् ।

सेवाग्राहीको गुनासोका आधारमा अस्पतालले उनीहरुसँग बारम्बार स्पष्टिकरण सोधेको र चेतावनीस्वरुप पटक पटक निलम्बनसमेत गरेको थियो ।

अस्पताल प्रशासनको निलम्बन र चेतावनीको बेवास्ता गर्दै काममा कुनै सुधार नआएपछि उनीहरुलाई सेवाबाट हटाउन बाध्य भएको हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप