बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अक्सफोर्डको खोपको प्रयोगमा रोक लगाउने देशको सङ्ख्या बढ्यो

सोमबार, ०२ चैत २०७७, ०९ : २७
सोमबार, ०२ चैत २०७७

अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन आएको भन्दै विभिन्न  सातवटा देशले  भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा  डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन् । यी देशले यस खोपमाथि अस्थायी रूपमा रोक लगाएका हुन् । नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड पनि यही अक्सफोर्डले निर्माण गरेको खोप नै हो ।

युरोपमा अहिलेसम्म  ५० लाख व्यक्तिले यो भ्याक्सिन  लगाइसकेका छन् । यसमध्ये  झण्डै ३० जनामा रक्तनलीमा रगत जम्ने (ब्लड क्लाटिङ) समस्या देखिएको  छ । ‘ब्लड क्लाटिङ) का कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा अवरोध आउनाले हृदय, मष्तिष्कलगायतका अन्य  अङ्गमा आवश्यक मात्रामा रगत पुग्न पाउँदैन । चिकित्सकहरूका अनुसार यस्तो भएमा हृदयाघात तथा मस्तिष्कघात हुनसक्ने खतरा हुन्छ  । अस्ट्रियामा भ्याक्सिन लगाएका एक जनाको ‘ब्लड क्लाटिङ’  हुँदा  ‘पल्मोनरी इम्बोलिज्म’ भएर मृत्यु भएको बताइए पनि भ्याक्सिनकै कारण यो समस्या उत्पन्न भएको हो या होइन भन्ने पुष्टि भइनसकेको समाचार संस्था रोयटर्सले लेखेको छ ।

उक्त व्यक्तिको मृत्युबारे अन्तिम रिपोर्ट नआएसम्म  भ्याक्सिन प्रयोगमा यी देशले अस्थायी बन्देज लाएका हुन् । मृत्युबारेको अन्तिम रिपोर्टमा भ्याक्सिन कारण नभएको पुष्टि हुँदा मात्रै पुनः प्रयोगमा ल्याउन सकिने ती मुलुकहरूको भनाइ रहेको छ । थाइल्यान्ड र बुल्गेरियाले भने युरोपेली देशले प्रयोगमा रोक लगाएपछि आफूहरूले पनि भ्याक्सिन लाउने योजना स्थगित गरेको बताएका छन् ।

थाइल्यान्डले प्रधानमन्त्री र अन्य मन्त्रीहरूले शुक्रबार खोप लगाउने कार्यक्रम रहे पनि खोप अभियान तत्काललाई स्थगन गरिएको जनाएको छ ।  थाइल्यान्डको कोरोना खोप समितिका सल्लाहकार पियासकोल सकोस्टायडर्नले शुक्रबार बीबीसीसँग भनेका थिए ।

ऐस्ट्रेजेनेकाको १ लाख १७ हजार ३ सय थान भ्याक्सिन  गत फेब्रुअरीमा थाइल्यान्ड पुगेको थियो । यसका साथै थाई सरकारले चीनबाट दुई लाख  थान ‘कोरोनाभ्याक’ पनि किनको थियो । यहाँका तीन लाख नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन  लगाइसकेका छन् ।

खोपमाथिका आशंका निवारण गर्दै प्रयोगका लागि सुरक्षित रहेको युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले स्पष्ट पारेपछि मात्रै प्रयोग गर्न सकिने बुल्गेरिया सरकारको भनाइ छ । ‘भ्याक्सिन लगाउन कुनै खतरा छैन भनेर विज्ञले नभनेसम्म हामी आम नगरिकलाई भ्याक्सिन  लगाउँदैनौँ,’ बुल्गेरियाका प्रधानमन्त्री बोएको बोरिस्सोभले समाचार संस्था रोयटर्ससँगको भेटमा भनेका थिए। 

स्पेनकी  स्वास्थ्यमन्त्री कारोलिना डारियासले मुलुकका सबै भण्डारण केन्द्रमा ऐस्ट्रेजेनेका  भ्याक्सिनका डोज समाप्त भएको बताएकी छन्  ।

अर्को युरोपेली मुलुक जर्मनीले भने ऐस्ट्रेजेनेकाको भ्याक्सिन सुरक्षित रहेको र शुक्रबार पनि  यसलाई निरन्तरता दिइएको जनाएको छ  । जर्मनीमा हाल तेस्रो चरणको संक्रमणको लहर देखिएको छ । यहाँ भ्याक्सिनको  अभावसमेत भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले  भ्याक्सिन  प्रयोगमा केही मुलुकले प्रतिबन्ध  लगाएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञ सम्मिलित सल्लाहकार समितिले यसबारे संज्ञान लिई रहेको बताउँदै डब्लूएचओको  प्रवक्ता मार्गरेट ह्यारिसले भनेकी छन्, ‘खोप लगाउन नहुने कुनै कारण छैन ।’ उनले यसलाई  ‘उत्कृष्ट’ खोपको संज्ञा पनि दिएकी छन् । हाल देखिएको भनिएको स्वास्थ्य समस्या र भ्याक्सिनमा  कुनै  अन्तरसम्बन्ध नरहेको दाबी गर्दै उनले भ्याक्सिन  लगाउँदा आवश्यक सावधानी अपनाउने कुरा  दोहर्याएकी छन् ।

भ्याक्सिनको सुरक्षाका विषयमा डब्लूएचओको सल्लाहकार समितिले विश्वभरबाट प्राप्त रिपोर्ट र तथ्यांकबारे अध्ययन गरिरहेको र असुरक्षाका केही संकेत देखिए तत्काल सचेत गराइने पनि उनले स्पष्ट पारिन् । उता भ्याक्सिन निर्माता कम्पनी ऐस्ट्रेजेनेकाले भने भ्याक्सिन परीक्षणका क्रममा यसको सुरक्षा चुनौतीबारे गहन अध्ययन गरेको दावी गरेको छ ।  ‘हामीले व्यक्तिको उमेर, लिङ्ग, देश आदिका आधारमा  यस्तो अध्ययनलाई निरन्तरता दिईरहेका छौँ,’ ऐस्ट्रेजेनेका कम्पनीका अधिकारीले जानकारी दिँदै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप