डोल्पामा तीन दिनदेखि यातायात ठप्प
डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए ।
“हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निर्णयबाट गाडी बन्द गरिएको हो”, पौडेलले भने, “दर्जनौँ जीप धनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।”
जीप व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानूनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । “तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि रु ५० घटाइएको हो”, पाण्डेले भने, “सर्वसाधारणको सेवा सुविधालाई ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरु आफूखुशी गर्छन् ।” सर्वसाधारण र व्यवसायी दुवै पक्षलाई मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताए ।
सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० बाट घटाएर रु ३०० मा झारेको थियो । जिल्लाका ठूलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर सङ्कलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो । तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरू सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण