बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रको पुनर्बहाली गर्ने प्रयास भैरहेको छ : मन्त्री ज्ञवाली

शुक्रबार, १० वैशाख २०७८, १७ : ०२
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुनर्बहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको बताए । सरकारले नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म फेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने बताए । उनले भने, ‘कोभिडले पारेको असर नेपालको फिल्म क्षेत्रले कसरी भोगिरहेको छ भन्ने बारेमा सरकार जानकार छ ।

यो क्षेत्रलाई कसरी रिभाइभ गर्न सकिन्छ, फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरू, हजारौँ फिल्म उद्योगमाथि आश्रित हुनुहुन्छ । उहाँहरुलाई परेको कठिनाइका बारेमा सरकारलाई जानकारी छ । त्यसका निम्ति विभिन्न ढङ्गले हामीले प्रयासहरु पनि गरिरहेका छौँ । नेपाली फिल्महरूको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरूबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडी बढ्न सकिन्छ, नेपाल फिल्म फेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रुपमा, हामी छलफल गर्नेछौं ।’

शुक्रबारदेखि काठमाडौंस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल शुरु भएको हो । फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलका निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकी देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताइन् । फिल्म फेस्टिभलमा नेपाली फिल्महरु पनि प्रदर्शन गरिने उनले बताइन् । नेपाल र अफ्रिका बीचको दूरी घटाउँदै अफ्रिकीहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म भेस्टिभलले सहयोग गर्ने पनि बताइन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिका बीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताइन् । दुई देशबीचको मित्रतालाई अघि बढाउन मद्दत पुग्ने पनि उनले बताए । अधिकारीले विदेशमा छरिएर रहेका नेपालीहरुले पनि नेपाली फिल्म फेस्टिभल गर्ने कुराको प्रतिक्षामा रहेको बताए । छिटोभन्दा छिटो नेपाली सिनेमाहरू पनि विश्वभर पुग्नेमा आफू आशावादी रहेको अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप