शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५ महिना अघिमात्र भारत पुगेका राजको भोकप्यासले तड्पिएरै मृत्यु

आइतबार, १९ वैशाख २०७८, ०९ : २३
आइतबार, १९ वैशाख २०७८

गुल्मी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले समाजका सबै तह–तप्का, वर्ग, समुदायलाई नराम्ररी प्रभावित तुल्याएको छ । सामाजिक दूरी नै यो रोगबाट बच्ने सबैभन्दा उत्तम विधि भनेकै आधारमा कोरोना संक्रमित व्यक्तिलाई कतिपय ठाउँमा छोइछिटोको व्यवहार गरेको पाइन्छ ।

गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छोइछिटोको सिकार हुँदा पानीका लागि तड्पिएर मृत्युवरण गर्न बाध्य भए ।

भारतको नयाँ दिल्लीस्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्वरोले सिकिस्त परेर कोठामा सुतेका थिए । गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिनाअघि भारत गएका उनी कोरोनाको दोस्रो लहरको सिकार भएका हुन् ।

उनले अस्पतालमा गएर जँचाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट नदेखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छाडेर अन्यत्र बसे ।

उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । श्वासप्रश्वासमा समस्या भएर उनको मृत्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।

उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् ।

पत्नी सिर्जनाका अनुसार उनी गत वर्ष वैशाखमा पनि कोरोना लहरकै बीच भारतबाट घर आएका थिए । आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।

हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पतालबाट जँचाएर फर्किएपछि कसैलाई रिपोर्ट नदेखाएका कारण साथीहरुले कोरोना संक्रमण लागेको आशंकामा साथ छाडे । परिणामस्वरुप भोकैप्यासै तड्पिएर उनको मृत्यु भएको भारतीको भनाइ छ ।

भारतीका अनुसार राजको दाहसंस्कारमा आएका अर्घाखाँचीका बुद्ध भन्ने एकजना युवाको पनि तीन/चार दिनपछि मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप