शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो

शनिबार, ०२ साउन २०८३, १७ : ५२
शनिबार, ०२ साउन २०८३

सारांश

  • वीरगन्जको छपकैया र आसपासका क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति वैकल्पिक ओभरहेड लाइन निर्माण सम्पन्न भएसँगै सुचारु भएको छ।
  • नगवा पोखरीदेखि छपकैया सब-स्टेसनसम्म बिछ्याइएको ३३ केभीको भूमिगत केबलमा खराबी आएपछि विद्युत् आपूर्ति बन्द भएको थियो।
  • स्थानीयको सहयोगमा विवादित क्षेत्रमा लाइन निर्माणलाई तीव्रता दिइयो र ३३ केभी ओभरहेड लाइनको निर्माण कार्य सम्पन्न भयो।

पर्सा । वीरगन्जको छपकैया र आसपासका क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु भएको छ।  छपकैयामा सञ्चालित ३३–११ केभी सब–स्टेसनमा वैकल्पिक ओभरहेड लाइन निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको विद्युत् आपूर्तिमा दीर्घकालीन समाधान खोजिएको हो ।

अब उक्त सब-स्टेसनलाई दुई वटा स्रोतबाट बिजुली दिन सकिने गरी सम्पूर्ण अवरुद्ध क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । असार ३१ गते दिउँसो करिब ४ बजे नगवा पोखरीदेखि छपकैया सब-स्टेसनसम्म बिछ्याइएको ३३ केभीको भूमिगत केबलमा खराबी आएपछि त्यस क्षेत्रमा बत्ती निभेको थियो। केबलमा समस्या देखिए लगत्तै प्राविधिक टोली मर्मतमा खटिएको थियो। 

समस्या पहिचान तथा समाधानका लागि चितवनको चनौली वितरण केन्द्रबाट भूमिगत फल्ट लोकेटर र हेटौँडा वितरण केन्द्रबाट थप प्राविधिक टोली बोलाएर सोही राति १ बजेदेखि काम सुरु गरिएको थियो। यद्यपि सडकमाथिको कालोपत्रे र लगातारको वर्षाका कारण भूमिगत केबलमा समस्या आएको यकिन ठाउँ पत्ता लगाउन निकै कठिन भएको थियो।

भूमिगत केबल मर्मतमा ढिलाइ हुने देखेपछि प्राधिकरणले पूर्वयोजना अनुरूप परसौनी सबस्टेसनबाट वैकल्पिक ३३ केभी ओभरहेड लाइनमार्फत आपूर्ति दिने काम अघि बढाएको थियो। तर बुखार चौर र अमर चोकमा स्थानीयले विरोध गरेपछि निर्माण कार्य रोकिएको थियो। 

लामो समय बत्ती नआएपछि नगवा र छपकैयाका युवा तथा स्थानीय बासिन्दाको सहयोगमा विवादित क्षेत्रमा लाइन निर्माणलाई तीव्रता दिइयो। असार ३२ गते साँझसम्म पनि काम नसकिएपछि राति ७ बजेदेखि ग्राहकलाई वीरगन्ज र परसौनीको ११ केभी फिडरबाट वैकल्पिक रूपमा रातभरि विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो।

साउन १ गते बिहानैदेखि भूमिगत केबलको समस्या खोज्ने र विवादित ठाउँमा ओभरहेड लाइन तान्ने काम एकसाथ अघि बढाइएको थियो। सोही दिन राति करिब ९ बजे ३३ केभी ओभरहेड लाइनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भयो। लामो समय विद्युत् अवरुद्ध हुँदा पनि धैर्य गर्ने उपभोक्ता र विवादित ठाउँमा लाइन निर्माणमा सहयोग गर्ने सबैलाई नेपाल विद्युत् प्राधिकरणको मधेस प्रादेशिक कार्यालय जनकपुरले धन्यवाद दिएको छ।

प्राधिकरणले ‘बत्ती अनियमित तथा अवरुद्ध भएको अवस्थामा धैर्य धारण गर्ने उपभोक्ता र विवादित ठाउँमा लाइन निर्माणमा सहयोग गर्ने सम्पूर्णप्रति हामी आभार व्यक्त गर्दछौँ’ भन्दै कृतज्ञता प्रकट गरेको छ।

747145086_1559046942505294_5682340443088995814_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप