शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायीलाई भने- ‘सरकारले दिएको सुविधाको भरपूर उपभोग गर्नुस्’

मङ्गलबार, ०८ असार २०७८, १९ : २९
मङ्गलबार, ०८ असार २०७८

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल तथा पर्यटन व्यवसायीहरुलाई  सरकारले दिएको सेवा सुविधाको भरपुर उपभोग गर्न आग्रह गरेका छन् । मंगलबार होटल तथा पर्यटन क्षेत्रको यावत् समस्या बोकेर अर्थमन्त्री भेट्न गएका होटल संघ नेपाल (हान) को सुझाव पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । 

सो अवसरमा उनले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन व्यवसायीहरुलाई आग्रह गरे ।  बजेटमार्फत होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै मन्त्री पौडेलले कोभिड–१९ का बेला योभन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको समेत धारणा व्यक्त गरे । 

आर्थिक वर्ष २०७८÷७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने, कोभिड–१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८÷७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ । 

यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड–१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ । 

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठुलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिइन् ।  सो अवसरमा होटल संघ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नुपर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनुपर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनुपर्ने लगायतका सुझाव समेत अर्थमन्त्री पौडेललाई दिएका छन् ।
       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप