शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् निषेधाज्ञाले फ्लोरमै रोकिएका फिल्म

बुधबार, ०९ असार २०७८, १२ : ४८
बुधबार, ०९ असार २०७८

निषेधाज्ञा केही खुकुलो भएसँगै म्युजिक भिडियोका छायाँकन फाट्टफुट्ट सुरु हुन थालेका छन् । थोरै युनिटबाट काम गर्न सकिने भएकोले पनि त्यो सम्भव भएको हो । तर फिल्मको छायाँकन भने कहिले सुरु हुन्छ यसै भन्न सकिने अवस्था छैन । नयाँ फिल्म त कुरै छाडौं निषेधाज्ञाले छायाँकन रोकिएका र सुरु हुन नसकेका थुप्रै फिल्म समेत अहिले पर्ख र हेरको स्थितिमा छन् । निषेधाज्ञाले कुन–कुन फिल्मको छायाँकन प्रभावित भयो त्यसको चर्चा यहाँ गर्न खोजिएको छ ।

‘वेलकम टु हेम्जाकोट’ फिल्म निषेधाज्ञा अगाडि फ्लोरमै थियो । ९० प्रतिशत छायाँकन सकिएको फिल्म निषेधाज्ञा जारी भएपछि रोकिन पुगेको हो । केही दिनको छायाँकन मात्र बाँकी रहँदा रोकिएको फिल्म अब कहिले सुरु हुन्छ यसै भन्न सकिन्न । माहोल हेरेर काम सुरु गर्ने मनस्थिति निर्माण युनिटको रहेको छ ।

समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, बिनोद न्यौपाने, दिनेश खड्का, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, रश्मी भट्ट, शारदा गिरी, सुजाईरा कार्की, सन्दीप सिग्देल, अस्मिता पन्थ, अम्बिका तामाङ आदि कलाकारले अभिनय गरिरहेका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता सुमन खड्का, जितेन्द्र गिरी र तेजप्रसाद दाहाल हुन् । 

फिल्म ‘प्रेमगञ्ज’ को पनि निषेधाज्ञाका कारणले छायाँकन रोकिएको हो । काभ्रेको कात्तिके देउरालीमा वैशाखको पहिलो सातादेखि छायाँकन सुरु गरेको फिल्म ६० प्रतिशत छायाँंकन सकिएपछि रोकिन पुगेको छ । बाँकी छायाँंकन कोरोना महामारीको प्रभाव कम भएपछि गर्ने निर्माण युनिटले जानकारी दिएको छ ।

परिच्छेद सेनको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, तेज गिरी, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, संजोग रसाईली, गिता बिष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, अन्चित ढुङ्गाना लगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको फिल्मका निर्माता राजु फुयाँल हुन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । त्यस्तै ‘आँधी तुफान–२’ पनि निषेधाज्ञाले सुटिङ रोकिएको फिल्म हो । २५ प्रतिशत छायाँकन सकाउँदै गर्दा फिल्म रोकिन पुगेको थियो । फिल्मको छायाँकन अब कहिले सुरु हुन्छ यसै भन्न सकिन्न् । निषेधाज्ञा पूर्ण रुपमा खुलेपछि फिल्मको छायाँकन थाल्ने निर्देशक मदन घिमिरेले बताए ।

मौनता श्रेष्ठको निर्माण रहेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बन्न लागेको हो । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ भिलेन कनिज कोइराला फिल्ममा भिलेको रुपमा देखिँदैछन् । फिल्म थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको हो । 

६५ प्रतिशत छायाँकन सकिँदै गर्दा रोकिएको फिल्म हो ‘लाइफ इन एलए’ ।  अमेरिकाबाट छायाँकन सुरु भएको फिल्मको बाँकी छायाँकन नेपालमा हुनेछ । अमेरिकामा फिल्म लस एन्जलस, सन् फ्रान्सिको र लस भेगासमा भएको छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्मको बाँकी छायाँकन नेपालमा हुनेछ । कोरोनाको कहर कम भएर फिल्म छायाँकनको माहोल बन्ने बितिकै फिल्म नेपाल छायाँकन गर्ने निर्माण युनिटले जानकारी दियो । वाश इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र विशाल ढकाल लगायतको मुख्य अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता संसार ए सुवेदी हुन्, भने निर्माण राजेन्द्र ठकुराठी रहेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘बाबरी’ पनि निषेधाज्ञाले छायाँंकन अवरोध भएको फिल्म हो । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै फ्लोरमा निस्किएको फिल्म करिब आधाआधी छायाँकन पुरा नहुँदै रोकिन पुगेको हो । फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकी मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा  धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । ४० दिनको छायाँंकन सेड्युल राखिएको फिल्म पनि छायाँकनका लागि उपयुक्त माहोलको पर्खाइमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप