मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाबाट चितवनमा ११ करोडको दूध नोक्सान

आइतबार, १३ असार २०७८, १५ : ०२
आइतबार, १३ असार २०७८

–कृष्ण आचार्य
कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन जारी  निषेधाज्ञाबाट चितवनका  दुग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि  सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।
सङ्घद्वारा आयोजित  पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले  दूग्ध किसान मारमा परेको जनाएको  छ । सङ्घका सचिव किशोर बगालेले भने, “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध सङकलन गरिरहेका छन् ।” समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महङ्गो मूल्यमा बेच्ने काम भइरहेको उनले बताए । “किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ ।” सचिव बगालेले भने ।

उनका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा रु २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट रु  ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

जिल्लामा ११०  सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०÷२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । उनले दूधमा पछिल्लो समय उद्योगहरूले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताए ।

“केही उद्योगहरूले प्रतिलिटर ४० रुपैयाँमा किसानसँग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन” उनले भने, “उद्योगको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।”जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । तीमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप