शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले रत्नपार्कका भित्तामा लेखेको अभद्र नारा महानगरपालिकाले मेटाइदियो

शुक्रबार, १८ असार २०७८, १६ : ३३
शुक्रबार, १८ असार २०७८

काँग्रेस निकट नेपाल विद्यार्थी संघले लेखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा महानगरपालिकाले मेटेको हो ।  ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ । त्यहि अनुसार नै ती अभद्र नारा मेटाएका हौँ ।’ 

कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौँ महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभद्र नारा लेखेर विरोध गरेका थिएँ । ‘२०७० सालमा आएर हामीले ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ,’ सापकोटाले भने, ‘त्यसै अनुरुप हामीले सहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ । त्यसमा सचेत छौँ र कार्यान्वयन पनि गर्दै आएका छौँ ।’ 

उनले आजका दिनमा आएर भित्तामा चित्र बनाउने कुराहरु दुर्लभ भएको बताए । ‘भित्ते लेखनमै हामीले प्रतिबन्ध गरेका छौ भनेपछि त्यो वा ऊ भनेर व्याख्या गर्न आवश्यक भएन,’ उनले भने, ‘प्रतिबन्धित ठाउँमा कसैले जानेर वा नजानेर त्यस्ता कार्य गर्छ भन्ने हामी तत्काल रोक लगाउँछौँ । केही दिन अघि पनि हामीले त्यहि स्थानमा कोरेका चित्र मेटाएका हौँ । आजका अभद्र नारा पनि मेटाइदियौँ ।’ 

उनले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उनले जानकारी दिए ।  ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्यमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीति अनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ ।’ 

उनले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप