बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा कोभिडको तेस्रो लहर नियन्त्रण गर्न यस्तो छ पूर्व कार्ययोजना

बिहीबार, २४ असार २०७८, १७ : २८
बिहीबार, २४ असार २०७८

सुर्खेत जिल्ला कोरोना भाइरस (कोभिड–१९)ले गर्दा नराम्रोसँग प्रभावित बनेको छ। प्रदेश राजधानी समेत भएको जिल्ला भएकाले पनि कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेतमा संक्रमित र मृत्यु हुनेको संख्या बढी नै छ।

पहिलो र दोस्रो लहरको कोरोना नियन्त्रणमा पूर्व तयारी नभएकाले संक्रमण दर ह्वात्तै फैलिएको थियो । तर, तेस्रो लहरका लागि भने सुर्खेतमा पुर्व तयारीका लागि कार्ययोजना तयारी गरिसकिएको छ। कोभिडको तेस्रो लहरपनि आउन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरिएको हो ।

कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पु¥याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले कार्ययोजना तयार गरेका हुन् ।

के छ कार्ययोजनामा ?

यदि कोरोना भाइरसको तेस्रो लहर आएको खण्डमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना बनाइएको छ ।

चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली जतिसुकै बेलापनि तैनाथ हुने र त्यसको व्यवस्था स्वास्थ्य सेवा निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ ।

तेस्रो लहरबाट बालबालिकाहरु बढी जोखिम हुने भनिएकोले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधी र उपकरणहरु तयारी अवस्थामा राख्न र त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।

अबको एक महिना भित्रमा आवश्यक औषधीहरु खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी भएकोले एकैपटक कम्तीमा तीनसय जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकोले सुर्खेतमै गर्नुपर्ने पर्ने कार्ययोजनामा समावेश गरिएको छ ।

त्यस्तै कम्तीमा ६ सय अक्सिजन सिलिण्डर व्यवस्था गर्नुपर्ने, सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, घर तथा टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाइनुपर्ने, एम्बुलेन्स तथा शव वाहनहरु तयारी अवस्थामा राख्नुका साथै चालकहरुलाई स्वास्थ्य सुरक्षा सावधानीका वारेमा सचेत गराउनुपर्ने र कोभिड नियन्त्रण र रोकथामबारे सवै तहलाई व्यापक जानकारी र प्रचारप्रसार गर्ने काम सो कार्ययोजनामा समेटिएको छ ।

त्यस्तै कार्ययोजनामा उल्लेख भएका कामहरु प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, उद्योग वाणिज्य संघ,रेडक्रसलगायतले गर्ने जनाइएको छ ।

 उक्त, कार्ययोजना सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठीत समितिले तयार गरेको कार्ययोजना प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरेको छ

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो लहर अघि नै पूर्व तयारी भएकोले सरोकारवाला निकायहरुलाई काम गर्न सहयोग पुग्ने बताए।

कार्ययोजना सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकमा करिब दुई साताको अवधिमा तयार पारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप