बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिन सरकारको निर्देशन

बुधबार, ३१ असार २०८३, २० : ३३
बुधबार, ३१ असार २०८३

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले यही असार २६ गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो।

निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने उल्लेख छ।

मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सरोकार भएका अन्यले ऐनको उक्त प्रावधानको पूर्ण पालना गर्नुपर्ने भन्दै जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र प्राप्त भएमा प्रदर्शन अनुमति दिन नसकिने जनाएको छ। साथै, उक्त व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप