बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई सिटौलाको सुझाव : मन्त्री बनाउन हतार नगर्नुहोस्

‘काँग्रेसले प्रधानमन्त्री पाउनु ठूलो कुरा हो, मन्त्रीका लागि प्रेसर नगरौँ’
बिहीबार, ३१ असार २०७८, १२ : ०१
बिहीबार, ३१ असार २०७८


नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई हतारमा मन्त्रीहरू नछान्न र सबै मन्त्रालयले आफैँले मात्र नराख्न सुझाव दिएका छन् । अहिलेको गठबन्धनलाई बचाउन र त्यहीअनुसार गठबन्धन र पार्टीमा सन्तुलन कायम गर्न सिटौलाको सुझाव छ ।

‘मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने सोच्नुपर्छ’ सिटौला भन्छन्, ‘यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कुशलता प्रधानमन्त्रीमा चाहिन्छ ।’

नेपाली काँग्रेसले प्रधानमन्त्री पाउनु नै ठूलो कुरा भएकाले अहिले देउवालाई मन्त्रीका लागि ‘प्रेसर’ गर्न नहुने सिटौलाले काँग्रेसका अन्य नेताहरूलाई पनि सुझाव दिएका छन् । उनी भन्छन्, ‘माधव नेपालजीको समर्थनबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्‍यौँ भने हामीले हाम्रो आफ्नै जिम्मेवारी बुझ्दैनौँ । सुझाव दिऔँ, अहिले दबाब दिने अवस्था छैन । प्रधानमन्त्री हाम्रो भइसकेपछि कुन मन्त्रालय लिने, नलिने भन्नेमा हठ गर्नु उपयुक्त छैन ।’

​प्रधानमन्त्री शेरबहादुर देउवालाई रातोपाटीमार्फत काँग्रेस नेता सिटौलाले  दिएको सुझाव जस्ताको त्यस्तै–

प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्ने दलहरूको भावनालाई जोडेर हिँड्न सक्नुपर्छ । हतारिएर हुँदैन । जसपाले निर्णय गरेको छैन । माधवजीको स्थिति के हुने हो, उहाँको पार्टीको अन्तर्द्वन्द्व चल्दैछ । त्यो द्वन्द्वले एकता गर्ने हो कि, उहाँलाई कहाँ पुर्‍याउने हो, थाहा छैन ।

यी सबै कुरा बुझेर नहतारिकन समयमा निर्णय लिने कौशलता प्रधानमन्त्रीमा चाहिन्छ । त्यसैले प्रधानमन्त्रीलाई हतारो गर्नुहुँदैन भन्ने पक्षमा छु । मूल कुरा उहाँले गठबन्धनलाई जोगाउनुपर्छ । गठबन्धनको भावनालाई मर्न दिनुहुँदैन । विश्वासको मत लिने तयारीका साथ उहाँले अगाडि जाने कोसिस गर्नुपर्छ । यसैका भावनाका आधारमा मन्त्रालयको बाँडफाँट गरेर गठबन्धन र आफ्नो पार्टीभित्र कसरी सन्तुलन काम राख्ने, सबै साथीहरूको भावनालाई कसरी समेट्ने, उहाँले सोच्नुपर्छ ।

मन्त्रालयको भागबण्डा फस्ट म्यान वा एक जना प्रतिनिधिले गर्ने हो । प्रधानमन्त्रीले गठबन्धनमा कुरा मिलाएर मन्त्रालय बाँडफाँट गरिसकेपछि के गरौँ भन्दा हामीले सल्लाह दिने हो नि त ! अहिले म आदि–इत्यादि केही भन्ने मुडमा छैन ।

चुनावमा सबैभन्दा महत्त्वपूर्ण अर्थ मन्त्रालय हुन्छ, गृह मन्त्रालय हुन्छ । सबै आफैँ राख्छु भनेर हुँदैन । निजामती कर्मचारीलाई नियन्त्रण र परिचालन गर्ने सामान्य प्रशासन मन्त्रालय पनि महत्त्वपूर्ण हुन्छ । कुन मन्त्रालय आवश्यक छैन भन्ने छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई सबै छोडिदिनुपर्छ । प्रधानमन्त्रीलाई यो गर र त्यो नगर भनेर भएन नि ।

प्रतिनिधिसभामा २३ प्रतिशत पनि छैन, १६५ मा २३ वटा जितेको छ । हामीले प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्नु उपयुक्त हुन्छ त ? यस्तो अवस्थामा प्रधानमन्त्री बन्नु नै सबैभन्दा ठूलो सफलता ठान्नुपर्छ ।

माधव नेपालजीको समर्थनबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री एकदम होसियारीपूर्वक हिँड्नुभएन भने त सरकारको भविष्य के हुन्छ ? त्यसकारण यस्ता कुरामा हामी संवेदनशील भएनौँ र प्रधानमन्त्रीलाई धेरै प्रेसर गर्‍यौँ भने हामीले हाम्रो आफ्नै जिम्मेवारी बुझ्दैनौँ ।

उहाँले क्रमिकरुपमा गर्दै जानुहोला । आवश्यक पर्‍यो भने हामीसँग सुझाव माग्नुहोला । सुझाव दिऔँ, अहिले दबाब दिने अवस्था छैन । यो प्रधानमन्त्रीय पद्धति हो । यहाँ सबै मन्त्रीहरूले प्रधानमन्त्रीको अधिकार प्रत्यायोजन गरेर काम गर्ने हुन्

मन्त्रिपरिषद् प्रधानमन्त्रीको नियन्त्रणमा रहन्छ । प्रधानमन्त्रीकै निर्णय लागु हुन्छ । मन्त्रीले प्रधानमन्त्रीकै निर्देशनमा काम गर्नुपर्छ । प्रधानमन्त्री हाम्रो भइसकेपछि कुन मन्त्रालय लिने, नलिने भन्नेमा हठ गर्नु उपयुक्त छैन । मेरो सुझाव छ–गठबन्धनको भावनालाई आत्मसाथ गरेर अगाडि जान सक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप