शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्न प्रस्ताव

बुधबार, २० साउन २०७८, १५ : ०२
बुधबार, २० साउन २०७८

यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम गर्ने निकाय फरक फरक भएकोले सडकमा सवारी व्यवस्थापनमा तालमेल नमिलेको बताए ।  

उनले ऐनमा सडकमा सवारी व्यवस्थापनका लागि यातायात निरिक्षक राख्नुपर्ने व्यवस्था रहेको बताउँदै ऐनको कार्यान्वयन हुन नसकेको बताए । उनले भारतमा यातायात निरीक्षकले नै सडकमा सवारीको व्यवस्थापन गर्ने गरेको र सो काम प्रभावकारी भएको उदाहरण समेत पेश गरे । नेपालमा पनि यातायात निरिक्षक नियुक्ति कसरी गर्ने सो बारेमा गृहकार्य हुनुपर्नेमा जोड दिए । 

उनले भने– ‘समग्र सावारी तथा यातायात क्षेत्रको काम गर्ने एउटा निकाय छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी भने अर्कै निकायले पाएको छ । कि ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग अन्तर्गत राख्नुपर्यो कि ऐनमा व्यवस्था भए अनुसार यातायात निरीक्षकको व्यवस्था गर्नुपर्यो । यातायातको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापन गरिरहेको फरक निकाय ट्राफिक प्रहरीसँग समन्वयको समस्या छ ।’

समितिले स्मार्ट सवारी चालक अनुमति पत्र र विभागले सुरु गरेको इम्बोस्ड नम्बरको व्यवस्थापनका बारेमा गरेको छलफलमा विभागका महानिर्देशक घिमिरेले ६ लाख सम्राट लाइसेन्स छपाई हुन बाँकी बताए । उनले छपाई मेसिन र स्मार्ट कार्डमा सफ्टवेयर बिच तालमेल मिलाउने प्राविधिक प्रक्रियामा समस्या भएका कारण लाइसेन्स छपाइको काम रोकिएको बताए । प्राविधिक रुपमा केही सुधार भएको र पूर्ण सुधार भएको अवस्थामा करिब १ महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स छपाई सम्पन्न हुने जानकारी गराए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप