आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

शुक्रबार, २२ साउन २०७८, २० : ३५
शुक्रबार, २२ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा गृहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृह मातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउन सक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खाँणले भने, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हुँदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्व तयारीमा रहनुपर्छ ।”

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशक समेतको सहभागिता थियो । बैठकमा मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरेका छन् । “भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ”, गृहमन्त्री खाँणले भने ।

उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदैशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताए । विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पिसिआर परीक्षण गर्न निर्देशन दिँदै त्यसका लागि  गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप